☰ open
×

लिम्बूवानमा पहिलो सम्मेलन : पद्मसुन्दर लाओती

फाल्गुनंद गाउँपालिकाको सूचना

सतही कुरा गरेर सस्तो लोकप्रियता आर्जन गर्न खोजेको भान हुन्छ।

लिम्बूवानमा पहिलो सम्मेलन
वि.सं.२०१६ सालमा तेह्रथुममा लिम्बूवानको विशाल सम्मेलन सम्पन्न भयो ।पहिलोपल्ट लिम्बूवानको सम्मेलन भएको यो ऐतिहासिक अवसर थियो । सम्मेलनमा तत्कालीन उपमन्त्री देउमान आङदेम्बे, ललितबहादुर सुब्बाजस्ता प्रबुद्ध व्यक्तित्वहरू सहभागी हुनुहुन्थ्यो। सम्मेलनले सुब्बा प्रेमबहादुर अध्यक्ष र म सचिव भएको ‘लिम्बूवान सुरक्षा सुरक्षित संगठन’ निर्माण गर्यो । काँग्रेसको सरकारलाई फाल्ने र राजा महेन्द्रलाई सहयोग गर्ने संगठनको भित्री उद्देश्य रहेको थियो । सम्मेलनबाट काँग्रेसको विरोध गर्दै राजा महेन्द्रलाई सहयोग गर्ने सहमति गर्यौ।

‘लिम्बूवान सुरक्षा सुरक्षित संगठन’का तर्फबाट त्यस भेगका समस्याहरूलाई राजा महेन्द्रसँग राख्न प्रतिनिधिमण्डल लिएर हामी टोलीसाथ काठमाडौं गयौं । काठमाडौं पुगेपछि हाम्रो टोली दुई समूहमा विभाजन भयो । सुब्बा प्रेमबहादुर लगायतका केही साथीहरू हामीबाट अलग हुनुभयो । हाम्रो समूहमा मलगायत देउमान आङदेम्बे, बमबहादुर सम्बाहाम्फे, साहू काजीमान श्रेष्ठ, नारायणभगत प्रधानाङ्ग थियौं । टोली नेताको रूपमा देउमान आङदेम्बेलाई अगाडि सान्यौं । हामी कसैले पनि यसभन्दा अगाडि राजासँग दर्शनभेट गर्ने सौभाग्य पाएका थिएनौं । राजासँग दर्शनभेट गर्दा कसरी प्रस्तुत हुने भन्नेबारे विस्तृत छलफल गरेर टुङ्गोमा पुगी दर्शनभेट गरेर सबै कुरा जाहेर गयौं ।

राजा महेन्द्रसँग लिम्बूवानका प्रतिनिधिमण्डलको दर्शनभेटमा किपट पनि लागू गर्ने र पञ्चायत पनि कायम गर्ने सहमति भयो । श्री ५ महेन्द्रबाट किपट भन्ने शब्द थप गरी लालमोहर बक्स्यो ।पछि सूर्यबहादुर थापा प्रधानमन्त्री भएपछि किपट प्रथा अन्त्य भयो । सूर्यबहादुर थापाले किपटको अन्त्य गराएकोले आम लिम्बूहरू सूर्यबहादुर थापाप्रति आज पनि असन्तुष्ट छन् ।


मेरै आह्वानमा वि.सं. २०२४ सालमा लिम्बूवानको दोस्रो ठूलो सम्मेलन तेह्रथुममा सम्पन्न भयो। सो सम्मेलनमा तिलविक्रम नेम्वाङ (वैरागी काईंला) लगायतका लिम्बूवानका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।

लिम्बूवानका विषयमा लेख र पुस्तक लेख्ने तथा ठूलठूला दार्शनिक कुरा छाँट्ने विद्वान्हरूले समेत त्यस क्षेत्रको इतिहासलाई आद्योपान्त पढ्नुपर्छ । कतिले त अहिले सतही कुरा गरेर सस्तो लोकप्रियता आर्जन गर्न खोजिरहेका जस्तो भान हुन्छ । लिम्बूहरूको बाहुल्य रहेका पूर्वाञ्चलका पहाडी जिल्लाहरूको भ्रमण गरेर वास्तविकता बुझ्ने हो भने यथार्थ बेग्लै पाइन्छ । तर राजधानीमा बस्ने केही टाठाबाठाहरूले लिम्बूहरूको आधिकारिक धारणा भन्दै जथाभावी बोलिरहेको सुन्दा मलाई दुःख लाग्छ ।

२००७ सालको क्रान्ति

२००७ सालको क्रान्तिको आगो देशभरि फैलिएको थियो । प्रजातन्त्रप्रति आस्था राख्ने टाठाबाठाहरू विस्तारै बोल्न थाले । कैयन् ठाउँमा क्रान्ति समर्थकहरूले सदरमुकाम नै कब्जा गरेका थिए । समानान्तर सरकार बनाएर उनीहरूले राज्य गर्न थालेका थिए । राणा सरकारले पठाएका बडाहाकिमहरूलाई समेत त्राहिमाम तुल्याएका थिए । झापा, इलाम, पाँचथर, धनकुटा, मोरङ, सुनसरी, सप्तरीलगायतका पूर्वाञ्चलका प्रमुख ठाउँहरूमा पनि क्रान्तिको आगो सल्किएको थियो ।

राजा त्रिभुवन सपरिवार दिल्ली सवारी भएपछि क्रान्ति झन् चर्कियो र २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा भयो । राष्ट्रपिता श्री ५ त्रिभुवनले देशवासीका नाममा सन्देश बक्सँदै राणा शासन समाप्त भएको र प्रजाहरू मिलेर अब नेपालको शासन पद्धति सञ्चालन गर्ने घोषणा गरिबक्स्यो । यसले जनतामा ठूलो उत्साह छायो । म त्यतिबेला केवल ११ वर्षको भएपनि २००७ सालको परिवर्तनले ल्याएको खुशियाली र उत्साह केहीकेही बुझ्न सक्ने भएको रहेछु ।

वि.सं.१९०३ भदौ ४ गते जंगबहादुरले कोतपर्वमा आफ्ना विरोधीहरूलाई काटेर प्रधानमन्त्री र प्रधानसेनापति बनेपछि राणा शासनको सुरुवात भएको थियो । एकतन्त्री जहाँनिया शासन १०४ वर्षसम्म चल्यो र २००७ सालमा प्रजातान्त्रिक पद्धतिको अभ्युदय भएपछि मात्रै विधिवत रूपमा राणा शासन समाप्त भएको मानिन्छ ।

क्रान्तिका नाममा पूर्वाञ्चलका धेरै ठाउँमा नेपाली कांग्रेसले उत्पात मच्चायो । कांग्रेसका नेता, कार्यकर्ताहरूले सरकारी कार्यालयदेखि लिएर धनीमानीहरूका सम्पत्ति पनि लुटेर लगे । गाउँमा भेडाबाखा र कुखुरा पालेर बसेका किसानका पनि अन्न र पशुपक्षी लुट्ने काम भयो । जताततै लुटपाट मच्चिएपछि पानी भर्न पँधेरामा गएका महिलाहरू पनि आपसमा झगडा हुँदा धारे हात लगाएर ‘तेरो घरमा कांग्रेस पसोस्’ भन्ने गर्थे ।

२०५२ सालमा माओवादीको विद्रोह सुरु भएपछि यो उखान विस्तारै लोप हुँदै गयो । किनभने २००७ सालमा नेपाली कांग्रेसले जति बितण्डा मच्चाएको थियो त्यसको हजारौं गुणा माओवादीले आतंक मच्चाउँदा हजारौंको ज्यान गएको र लाखौं विस्थापित भएका थिए । नत्र भने विगतमा कांग्रेसप्रति जनस्तरमा व्यापक वितृष्णा कायम थियो ।

विकासवादी नेता स्व.पद्मसुन्दर लावतीको नवौं स्मृति दिवसमा फिदिममा लोकापर्ण भएको उहाँको आत्मकथा, ‘मेरो देश, मेरो परिवेश’ (दोस्रो संस्करण) को सम्पादित अंश । स्व. पद्मसुन्दर लाओतीको कान्छो छोरा सगुन लाओतीको सहयोगमा फालेलुङ न्युज डटकमबाट प्रकाशन

फेसबुकबाट तपाईको प्रतिक्रिया