☰ open
×

जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कार पत्रकार सन्देश सुब्बालाई

फाल्गुनंद गाउँपालिकाको सूचना

पाँचथर। सुम्हात्लुङ टाइम्स डटकमका सञ्चालक तथा सम्पादक, पत्रकार सन्देश सुब्बा स्वर्गीय प्रजापति–जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।

नेपाल पत्रकार महासंघ, पाँचथर शाखाले फिदिम स्पोर्टिङ क्लव सँगको सहकार्यमा बार्षिक रुपमा प्रदान गर्दैै आएको १० हजार रुपैंयाँ राशीको उक्त पुरस्कारबाट यस बर्ष पत्रकार सुब्बा पुरस्कृत भएका हुन्। नेपाल पत्रकार महासंघ पाँचथरको प्राङ्गणमा मंगलबार आयोजित मिडिया सम्मेलनको अवशरमा उक्त पुरस्कार वितरण गरिएको हो।

पत्रकार सुब्बालाई कार्यक्रमका प्रमुख अतिथि, प्रदेसभा सदस्य मैंया श्रेष्ठ लाओतीले सम्मान–पत्र, पुरस्कार संस्थापकका तर्फबाट व्यवसायी दिपक नेपालले पुरस्कार राशी प्रदान गरेका थिए। फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष दिपेन्द्र थापा मगरले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

सो अवशरमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा.सुरेश आचार्यलाई यस बर्षको स्वतन्त्रता सेनानी सम्मान प्रदान गरिएको छ। पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने अग्रज पत्रकारलाई बार्षिक रुपमा प्रदान गरिने ३३ हजार ३ सय ३३ रुपैंयाँ राशीको यो सम्मानबाट यसपल्ट डा.आचार्यलाई सम्मान गरिएको हो।

त्यस्तै २५ हजार रुपैंयाँ राशीको फिदिम नगर पत्रकारिता पुरस्कार पत्रकार खबिन लुईंटेल र दश हजार रुपैंयाँ राशीको स्वर्गीय हरिचरण–भद्रमाया वातावरण पत्रकारिता पुरस्कार पत्रकार दुर्गा खनाललाई प्रदान गरिएको छ।

सम्मान तथा पुरस्कार प्रदान कार्यक्रममा प्रमुख अतिथि, प्रदेशसभा सदस्य मैँया श्रेष्ठ लाओतीसँगै जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बे, फिदिम नगरपालिकाका मेयर मित्र प्रसाद काफ्ले, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बिर्जहाङ आङदेम्बे लगायतले सम्मानित तथा पुरस्कृत पत्रकारहरुलाई बधाई तथा शुभकामना दिएका थिए।

सम्मान तथा पुरस्कार प्रदान कार्यक्रम नेपाल पत्रकार महासंघ, पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भएको थियो।

बद्लिँदो परिस्थितिमा नेपाली पत्रकारिताका नयाँ आयामबारे छलफल गर्न आयोजना गरिएको मिडिया सम्मेलनमा तीन शत्रमा छलफल गरिएको थियो। ‘कि नोट स्पिकर’ शेसनमा पत्रकार अरुण बरालले आफ्ना बिचारहरु राखेका थिए। ‘मोफसलको पत्रकारिता’ शेसनमा सप्तरीका पत्रकार ललिता शाह, दैलेखका पत्रकार विशाल सदाशंकर र ताप्लेजुङका पत्रकार आनन्द गौतमले प्यानल डिस्कोर्स गरेका थिए। उक्त शेसनको सहजीकरण झापाका पत्रकार केशव भट्टराईले गरेका थिए।

मिडिया सम्मेलनको अन्तिम डिस्कोर्स ‘अबको पत्रकारिता’मा वरिष्ठ पत्रकार दिल भुषण पाठक र अन्नपूर्ण एस्सप्रेसका सम्पादक कमलदेव भट्टराईले आफ्ना बिचार राखेका थिए। यो शेसनलाई इलामका पत्रकार सटेन्द्र जबेगुले सहजीकरण गरेका थिए।

मिडिया सम्मेलनले ११ बुँदे घोषणा–पत्र समेत जारी गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया