☰ open
×

बाढीले पुल बगाएको फालेलुङमा डाइभर्सन निर्माण

फाल्गुनंद गाउँपालिकाको सूचना

फालेलुङ, पाँचथर। गत असार ३ गतेको बाढीले मोटरेबल पुल बगाएको स्थान पाँचथरको फालेलुङ गाउँपालिका स्थित हेवाखोलाको घुमाउने टारमा डाइभर्सन बनाइएको छ । तत्कालको यातायात गतिरोध हटाउन गाउँपालिकाको अगुवाइमा जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीद्वारा डाइभर्सन बनाइएको हो ।

डाइभर्सन निर्माणमा फालेलुङका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको नौ लाख ५७ हजार ५०३ रुपियाँ नगद र जिन्सी सहयोग छ । थप गाउँपालिकाको नगदसहित ४४३ जनाको जनश्रमदानसमेत गरी जम्मा २३ लाख रुपियाँ लागतमा डाइभर्सन निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । असार २० गतेदेखि निर्माण थालिएको डाइभर्सन लगातार तीन दिन खटेर सम्पन्न गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले बताउनुभयो । निर्माण सम्पन्न डाइभर्सन असार २९ गते सञ्चालनमा ल्याउन लागिएको गापा अध्यक्ष वीरविक्रम थाम्सुहाङ हस्ताक्षरित सोमबार सूचना जारी भएको छ । सूचनामा डाइभर्सन निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति धन्यवाद पनि व्यक्त गरिएको छ ।

दुई वटा ह्युम पाइप राखेर बनाइएको डाइभर्सनमा २९ गते पानी पठाएर सञ्चालन गर्न लागिएको हो । सदरमुकाम फिदिमसँग सीधा सम्पर्कमा जोडिने फिदिम–फालोट सडकसँग जोडिने सिदिन–थोक्पन–मच्छेबुङ मार्ग अन्तर्गतको घुमाउने टारमा डाइभर्सन बनाइको हो । फालेलुङ क्षेत्रका लागि मुख्य मार्ग रहेको सिदिन–थोक्पन–मच्छेबुङ सडक ३ गते यतादेखि अवरुद्ध हुदा स्थानीयवासीको जनजीवन कष्टकर बनेको छ । अस्थायी रूपमै भए पनि डाइभर्सन निर्माणले यातायात सुचारु हुन लाग्दा आफूहरूले धेरै राहत पाउने विश्वासले स्थानीयवासी खुसी छाएको छ । बाढीले नै मोटरेवल पुल भत्काएपछि अवरुद्ध रहेका फालेलुङवासीको प्रत्यक्ष जनजीविकासँग जोडिएका दुई महत्त्वपूर्ण मार्ग पनि खुलाउने प्रयास भइरहेको अधिकृत आङ्देम्बेले सुनाउनुभयो । यसका लागि पनि सहयोग पुर्याउन उहाँले सबैसँग आग्रह गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया