☰ open
×

पर्यटक तान्दै फालेलुङ

फाल्गुनंद गाउँपालिकाको सूचना

फालेलुङ, पाँचथर।
फालेलुङ गाउँपालिका पाँचथरले पर्यटकहरुलाई भव्य स्वागत गर्याे । बिहीबार छिमेकी राष्ट्र भारतबाट नेपालकाे काँकडभिट्टा नाका हुँदै फालेलुङ आएका ८ जना पर्यटकलाई गाउँपालिकाको केन्द्र थकेपुङमा लिम्बूहरुको सांस्कृतिक बाजा च्याब्रुङ बजाउँदै मायाकाे चिनाे स्वरुप याक र पालिकाको लाेगाे अङ्कित कप एवं फूलकाे गुच्छाले स्वागत गरिएकाे हाे ।

पछिल्लो समय फालेलुङ गाउँपालिका जिल्लाकै पर्यटकीय क्षेत्रको रुपमा चिनिँदै जानुमा पालिकाकाे उच्च पहाडी क्षेत्र जाे भारतकाे सीमानासँग जाेडिएकाे छ जहाँ लाेभलाग्दाे हिमश्रृङ्खला देखिनु, विभिन्न प्रजातिका लागीगुराँस, बहुमूल्य जडिबुटी पाइनु, विश्वमै सातवटा मात्र देशमा पाइने याक पाइनु साथै भारतसँग सिमाना जोडिनु हाे ।

यस क्षेत्रमा भारततिरबाट बर्सेनि लाखाैं पर्यटक आवतजावत गर्छन् । पालिकाले याे भन्दा अघिसम्म सीमा क्षेत्रमा भारततिरबाट आउने पर्यटक हेरेर चित्त बुझाउनु परेकाे थियाे भने स्थानीय सरकार एवं संघ संस्थाकाे लगातारकाे अभियानले अब नेपाल हुँदै पर्यटक आउन थालेकाे प्रमुख प्रशासकीय अधृकृत डम्बरबहादुर आङदेम्बे बताउनुहुन्छ ।

“पश्चिम बङ्गालकाे जनसङ्ख्यामात्र दस कराेड प्लस छन् । उनीहरुमा तत्कालीन अङ्ग्रेजकाे पालादेखि नै भ्रमण गर्ने संस्कार बसेकाे छ । उनीहरुकाे सबैभन्दा नजिक र सस्ताे भ्रमण गर्न लायककाे ठाउँ भनेकै सन्दकपुर हुँदै फालाेटसम्म हाे । यतिमात्र हाेइन, यस क्षेत्रलाई बङ्गालीहरु आफ्नाे प्रान्तकाे सबैभन्दा अग्लाे क्षेत्र पनि सम्झन्छन् र नै आउन रुचाउँछन ।” पर्यटन अभियन्ता शिल्प साम्पाङ राई बताउनुहुन्छ ।

फालेलुङकाे हकमा पर्यटनबाट राम्राे आम्दानी र राेजगारी सिर्जना गर्न सकिने भएकाेले नै प्रचारप्रसार स्परुप ऐतिहासिक चाैंरी महाेत्सव साथै फालेलुङ पर्यटन महाेत्सव स्थानीय सरकार र विभिन्न संस्थाहरुकाे सहकार्यमा गरिएकाे हाे । तर विभिन्न कानुनी अड्चनलगायतका समस्याले पर्यटक साेचेकाे समयमा साेचेजति भित्र्याउन सकिएकाे छैन भनेर अर्का अभियन्ता डिल्ली आञ्जुम बताउँछन् ।

उनी थप्छन्, “कम्तिमा पनि नेपाल क्षेत्रबाट फालाेटकाे उच्च डाँडासम्म अनि चाररातेदेखि सन्दकपुरसम्म बाइकिङ राेड खाेलिइए वार्षिक हजाराैं बाइकर्स पर्यटक छिराउन सक्ने हाम्राे टिम छ ।” बिहीबारमात्र कोलकतादेखि बाइकबाट आउने आठ जना पर्यटकलाई स्थानीय केलाङ समूह थकेपुङ, ३ नम्बर वडाध्यक्ष शक्ति केरुङ, समाजसेवी सुरेन्द्रकुमार अधिकारी, खडक ठटाल लगायत गाउँपालिकाका कर्मचारीद्वारा भव्य स्वागत गरिएकाे प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले जानकारी दिनुभयो ।

नेपाल हुँदै फालेलुङ भ्रमणमा आउने पर्यटकले प्रति मोटरसाइकल २ सय रुपैयाँ र प्रति व्यक्ति ५० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने पालिकाकाे आर्थिक ऐनमा उल्लेख भएबमोजिम बिहीबार आउने पर्यटकबाट इतिहासमै पहिलाे चाेटी दुई हजार रुपैंयाँ बुझाइएकाे र याे क्रम आगामी दिनहरुमा अझ बढ्ने र पालिका साथै सबैकाे हितकाे निम्ति इमान्दार भएर शुल्क बुझाउने पर्यटक गाइडकाे रुपमा आउने शिल्प साम्पाङले बताउनुभयाे ।

स्थानीय सरकारले पनि पर्यटन प्रवर्द्धनका लागि बर्सेनि लगानी र याेजना बनाइरहेकाे र आगामी आर्थिक वर्षमा अझ प्राथमिकतामा राखेर बजेटिङ गर्नेमा पालिका सरकारकाे एक मत रहेकाे देखिएकाेले फालेलुङ गाउँपालिकाले पर्यटनकाे क्षेत्रमा चाँडै फड्काे मार्ने विश्वास गरिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया