☰ open
×

सामुदायिक पर्यटन स्थानीय उत्पादनको कुकिङ तालिम फालेलुङमा सम्पन्न

फाल्गुनंद गाउँपालिकाको सूचना

फालेलुङ,पाँचथर ।
पाँचथरको फालेलुङ गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले बैकल्पिक आयआर्जनमा सहयोग पुग्ने अपेक्षा सहित गाउँपालिका र रेडपाण्डा नेटवर्कको आर्थिक सहयोग र दीप ज्योति युवा क्लबको आयोजनामा पाँचदिने सामुदायिक पर्यटन स्थानीय उत्पादनको कुकिङ होमष्टे प्रवर्द्धन तालीम होमष्टेवाला र होटलवालाई दिइएका छन् ।

गाउँपालिकाको केन्द्र थोकेपुङमा बैशाख ९ गतेदेखि १३ गतेसम्म पाँचदिन तालीम सञ्चालन गरेको थियो। गाउँपलिकाले दुईलाख र रेडपाण्डा नेटवर्कले एकलाख आर्थिक सहयोग गरेको थियो । स्थानीय परम्परागत खेतिबालीलाई प्रोत्साहन गर्दै अर्गानिक रुपमा होमस्टे संचालन गरी आर्यआर्जनमा टेवा पुग्ने र होमस्टेका माध्यामबाट आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित बनाउनु पर्ने अपेक्षा गरिएको पालिका अध्यक्ष बिरबिक्रम थाम्सुहाङले बताए।

तालिमले स्थानीयलाई स्वरोजगार बन्न निकै योगदान पुग्ने पालिका उपाध्यक्ष महेन्द्र जबेगूले बताए । पर्यटन प्रवर्द्धनसँगै मानव स्वास्थ्यलाई स्वस्थ तथा हराभरा बनाई राख्न प्रकृतिको लयलाई पकड्न आवश्यक रहेको तालिममा जोड दिइएको थियो ।

रसायनिक मिसावटमुक्त तथा हाईजेनिक खानपिनबाट मानव स्वास्थ्यलाई स्वस्थ राख्न होमस्टेले ठूलो मद्दत पुग्ने प्रशासकीय प्रमुख डम्बरबहादुर आङ्देम्वेले बताए।

तालिममा गाउँपालिका भित्रका जम्मा २६ जना सहभागी थिए । तालिममा सहभागी भएकाले तालिममा मात्र सिमित नभएर व्यावहारिक रुपमा पनि उतार्नु पर्ने ट्रेनर रमेश राईले बताए ।

तालिमले बनाउने परिकार मात्र नभएर परिकारको नाम पनि थाहा पाएको तालिममा सहभागी मेमेङका राजु सावदेनले बताए । सावदेनका अनुसार गाउँघरमै उत्पादन भएको आलुबाट विभिन्न परिकार बनाउन सकिने बताए । सीप सिकेपछी देशमै रोजगार पाइने र विदेश जादापनी आफुसँग सीप भएपछि दुख नपाइने सावदेनको दावी छ।

तालिमको समापनमा तालिम अवधी सिकेका परिकारको प्रदर्सन गरेका थिए । २६, २७ परिकार सिकाइएको थियो। तालिमले गाउँपालिका भित्र रहेको थोकेपुङ बजारमा पनि खानामा स्वाद फेरिएको पालिका कर्मचारी आइटी सुमन सुबेदीले बताए ।

तालिममा सहभागी भएका २६ जनालाई प्रमाणपत्र प्रदान गरेको आयोजक दीप ज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तावाले जानकारी दिए । २६ जना सहभागी मध्ये ४ जनालाई उत्कृष्ट पुरस्कृत गरिएको बान्तावाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया