☰ open
×

भौतिक पूर्वाधार विकास मन्त्री जवेगूद्वारा ११ किलोमीटर कालोपत्रे सडकको शिलान्यास

फाल्गुनंद गाउँपालिकाको सूचना


फालेलुङ।

कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जवेगूले सडक निर्माणमा स्थानीयको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । फिदिम फालोट सडक लुदीन टारदेखी मदन चोकसम्मको ११ किलोमीटर कालोपत्रेको आज मंगलबार शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभयो। सडक निर्माणका कार्यमा स्थानीयले अवरोध तथा विरोध गर्न नहुने समेत उहाँले बताउनुभयो । यस सडक कालोपत्रेसँगै पाँचथरको समृद्धी र विकासमा यस सडकको भूमिका महत्वपूर्ण टेवा पुग्ने उहाँले बताउनुभयो । यस सडकको कालोपत्रेसँगै फालेलुङ तथा पाँचथरबासीको जनजीविकामा समेत प्रत्यक्ष फाइदा पुग्ने उहाँले बताउनुभयो ।

फालेलुङका विभिन्न क्षेत्रबाट कृषि उपजदेखि अन्य सहजताका लागि सडक सञ्जाल अति आवश्यक रहेको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री जवेगूले मापदण्ड अनुसार गुणस्तरीय सडक निर्माण गर्न निर्माण व्यवसायीलाई निर्देशन समेत दिनुभएको छ । फरक प्रसंगमा बोल्दै आफू सरकारमा रहँदा वा नरहँदा पनि जनताका सरोकारका विषयमा निरन्तर लागि रहने पनि बताउनुभयो । कार्यक्रममा भौतिक विकास मन्त्री जबेगूले सडक निर्माण कार्य उल्लिखित समय भित्र सम्पन्न गर्न आग्रह गर्नुभयो । सडक कालोपत्रे योजना ग्रामीण सडक संजाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई विराटनगर मार्फल संचालन हुने छ ।

कोशी प्रदेश सरकारको १२.२ प्रतिशत र ए.डी.बी. संस्थाको ८७.५ प्रतिशतको संयुक्त लगानीमा कुल बजेट भ्याट सहित रु. २७ करोड २५ लाख ९३ हजार ३ सय ४७.५४ रुपैँया बजेट विनियोजन रहेको छ। कालोपत्रेको ठेक्का रौताहा एपेक्स जेभी कम्पनी काठमाडौले जिम्मा लिएको हो। ८२ साल चैत १८ गतेसम्ममा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने फालेलुङ गाउँपालिका उपाध्यक्ष महेन्द्र जबेगूले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया