
पाँचथर । जिल्ला एथलेटिक्स संघ पाँचथरले इन्द्रमाया जवेगुलाई सम्मानपत्र प्रदान गरेको छ। संघको दोस्रो बैठकको अवसरमा फागुन १४ गते बुधबार संघकी सदस्य जवेगुलाई सम्मान गरिएको हो।
जवेगुले संघलाई सक्रिय राख्न तथा खेलकुद विकासका लागि नगद २५ हजार आर्थिक सहयोग उपलब्ध गराएकी छन्। ५३ वर्षीया जवेगुले आर्थिक मात्र नभई भौतिक रूपमा पनि सहयोग गरिरहेको एथलेटिक्स संघ पाँचथरका अध्यक्ष पूर्णहाङ तुम्बापो (रेन्जो)ले जानकारी दिए। उहाँ स्वयंले लव्रेकुटी–सिलौटी–फाल्गुनन्द हाफ म्याराथन, सुम्हात्लुङ मिनि म्याराथनजस्ता प्रतियोगितामा सहभागिता जनाएर खेलाडीहरूलाई हौसला प्रदान गर्दै आउनुभएको छ। जवेगुको यस योगदान र साहसको कदर गर्दै संघले सम्मान गरेको अध्यक्ष तुम्बापोले बताए।
यसैबीच, हालै कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा फागुन १३ गतेदेखि विराटनगरमा प्रदेश खेलकुद महोत्सव–२०८१ सञ्चालन भइरहेको छ। प्रतियोगितामा पाँचथर जिल्ला एथलेटिक्स संघका प्रशिक्षक आशिष सावदेनको नेतृत्वमा १०० मिटर दौडमा लक्ष्मण चेम्जोङ, ५ कि.मि दौडमा ओशन राई, ज्याभलिन थ्रोमा सुजन मगर सहभागी भएका थिए। महिलातर्फ १०० मिटर दौडमा समीक्षा परियार, ५ कि.मि दौडमा पुष्पा शेर्मा, ज्याभलिन थ्रोमा ललिता वाग्लेले प्रतिस्पर्धा गरेका थिए।
उक्त प्रतियोगितामा पाँचथरका २१ वर्षीय ओशन राईले ५ कि.मि दौड १५ मिनेट ४७ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गरेका छन् भने महिलातर्फ पाँचथरकै १८ वर्षीया पुष्पा शेर्माले २० मिनेट १३ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान प्राप्त गर्न सफल भएकी छन्।
जिल्ला एथलेटिक्स संघ पाँचथरले उनीहरूलाई सम्मान गर्ने निर्णय बैठकमार्फत गरेको उपाध्यक्ष भीम चेम्जोङले जानकारी दिए। पाँचथरमा एथलेटिक्स संघ २०८१ सालमा दर्ता भएको हो। संघले जिल्लामा विभिन्न प्रतियोगिता सञ्चालन गरी खेलाडीको क्षमता अभिवृद्धि गर्दै आएको अध्यक्ष तुम्बापोले बताए। उनका अनुसार जेठ ३ गतेदेखि १० गतेसम्म कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुदमा पाँचथरका खेलाडीलाई प्रतिनिधित्व गराएर इतिहास रच्ने लक्ष्य राखिएको छ।