
पाँचथर। पाँचथर जिल्लाको फिदिम नगरपालिका–१३, टिम्बुरेमा बिहिवार बिहान सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। विर्तामोडबाट डिजेल, ब्राण्ड दाना, सिमेन्ट र जस्तापाता लिएर लुङरुपातर्फ जाँदै गरेको मे १ च ४२१४ रातो नम्बर प्लेट भएको पिकअप गाडी बिहान करिब ८ बजे ट्रनिङमा ब्रेक फेल भई दुर्घटना भएको हो।
दुर्घटनामा फिदिम–१३, टिम्बुरे निवासी गाडी चालक भवानी खतिवडाको टाउकोमा गम्भीर चोट लागेको छ भने गाडीका मालिक राम सुवेदीको हातमा गम्भीर चोट लागेको छ। उनीहरूलाई पाँचथर जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि झापाको विर्तामोडस्थित विएन्डसी अस्पतालमा लगिएको जिल्ला प्रहरी पाँचथरले जनाएको छ।
त्यस्तै, गाडीमा सवार अर्का व्यक्ति आयूस लिम्बू पनि दुर्घटनामा घाइते भएका छन्। यद्यपि उनको शरीरमा बाहिरी चोट देखिएको छैन, तर भित्रि अंगमा असर परेको आशंकामा जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ।

दुर्घटनापछि घटनास्थलमा अस्थायी प्रहरी चौकी जल्पाबाट खटिएको प्रहरी टोलीले उद्धार गरेर घाइतेहरूलाई अस्पताल पुर्याएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।