
फालेलुङ, पाँचथर ।
क्यान्सर पीडित सुरज जबेगूको उपचारका लागि फालेलुङ सेवा समाजले आर्थिक सहयोग स्वरूप दुई लाख चौबीस हजार आठ सय तेह्र रुपैयाँ हस्तान्तरण गरेको छ। बुधबार एक कार्यक्रमकाबीच उक्त रकम पीडितका अभिभावकलाई घरमै पुगेर हस्तान्तरण गरिएको हो।
पाँचथरको फालेलुङ गाउँपालिका–४, तालखर्कका १७ वर्षीय सुरज जबेगू झापा स्थित पूर्वाञ्चल क्यान्सर अस्पताल, बिर्तामोडमा केही महिनादेखि उपचाररत छन्। उहाँका बुवा हर्कबहादुर जबेगू र आमा सुकमाया जबेगूका कान्छा छोरा सुरजको उपचारमा ठूलो खर्च लाग्ने भएपछि परिवारको अनुरोधमा फालेलुङ सेवा समाजले सहयोग संकलन गरेको समाजका सचिव सन्तोष जबेगूले जानकारी दिनुभयो।
२०७८ सालदेखि विभिन्न विपद् र सामाजिक पीडामा साथ दिँदै आएको फालेलुङ सेवा समाजले यसअघि कोभिड–१९ को समयमा अक्सिजन सिलिन्डर, सेनिटाइजर, मास्क लगायतका सामग्री पालिकालाई हस्तान्तरण गरेको थियो। समाजमा देश-विदेशमा रहेका फालेलुङका युवाहरू आबद्ध छन्।

यसपटकको सहयोग अभियान समाजका दोस्रो उपाध्यक्ष मंगलसिंह केरुङ (समीर) को संयोजकत्वमा सञ्चालन गरिएको थियो। अभियान अन्तर्गत देश तथा विदेशबाट रकम संकलन गरिएपछि बुधबार बिरामीको घरमै पुगेर वडासदस्य मैतबहादुर जबेगूको उपस्थितिमा सुरजका अभिभावकलाई सहयोग रकम हस्तान्तरण गरिएको हो।
हस्तान्तरण कार्यक्रममा समाजका सचिव सन्तोष जबेगू, वडासदस्य मैतबहादुर जबेगू, सिंहकालिका आधारभूत विद्यालय लाफेका प्रधानाध्यापक पदम केरुङ, समाजसेवी युवा सुशील चाम्लिङ, सरोज जबेगू लगायत स्थानीयको उपस्थिति रहेको थियो।
सहयोग अभियानमा मलेसियाबाट तारा जबेगू, साउदीबाट प्रेम मोक्तान, झापाबाट मौसम जबेगू, संगिता जबेगू र सरोज जबेगूले सक्रिय भूमिका खेलेका थिए।