
ताप्लेजुङ । सिदिङवा गाउँपालिका–५ आङखोपमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जना घाइते भएका छन्।
स्थानीय हस्तबहादुर कटुवालको घरमा गयराति करिब १ बजे पहिरो जाँदा उनकी ५० वर्षीया श्रीमती ठगमाया कटुवाल गम्भीर घाइते भएकी छन् भने अन्य चार जनाको अवस्था सामान्य रहेको छ।
वडाध्यक्ष रत्नबहादुर खत्रीका अनुसार खेतमा सिँचाइका लागि खोलिएको कुलोमा बगेको पानी थुनिएर जम्दा माथिल्लो भागबाट पहिरो खसेको हो। उक्त पहिरोले कटुवाल परिवारको घर पुरिएको थियो।

घटनाको बेला घरको छेउमा रहेको मतान (छाप्रो) मा सुतेका छोराबुहारीले आमाबुबाको उद्धार गरेका थिए। पहिरोमा परेर घरधनी हस्तबहादुर कटुवाल, छोरा जगत कटुवाल, बुहारी सरस्वती कटुवाल र छोरी सम्झना कटुवाल सामान्य घाइते भएका हुन्।
गम्भीर घाइते ठगमायाको थप उपचारका लागि एम्बुलेन्स बोलाइए पनि घटना भएको करिब सात घण्टासम्म पनि एम्बुलेन्स घटनास्थलमा नपुगेको स्थानीय मौसम सेलिङ लिम्बूले जानकारी दिए। उनका अनुसार पालिकाको केन्द्र साब्लाखुबाट एम्बुलेन्स बोलाइएको हो, तर आधा घण्टा लाग्ने दूरीमा रहेको एम्बुलेन्स समयमै नआएको गुनासो छ।
हाल घटनास्थलमा साब्लाखु प्रहरी चौकीबाट खटिएको टोलीले अनुसन्धान र क्षतिको विवरण सङ्कलन कार्य गरिरहेको वडाध्यक्ष खत्रीले जनाएका छन्।