
फालेलुङ, पाँचथर । फालेलुङ गाउँपालिकामा पहिलो पटक गजलकार सुमन स्मारिकाको विशेष गजल प्रस्तुति सहितको साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। वाङ्मय प्रतिष्ठान फालेलुङले तेस्रो वार्षिकोत्सवको अवसरमा स्मारिकालाई विशेष अतिथिका रूपमा निम्त्याउँदै विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो।
“सान, कला, सङ्गीत एवं साहित्यको संरक्षण र विकास हाम्रो अभियान” भन्ने नारासहित सम्पन्न कार्यक्रममा स्मारिकाले आफ्ना नयाँ र पुराना गरी दर्जनभन्दा बढी गजल वाचन गरेकी थिइन्। उनले गजलमात्र होइन, आफ्ना जीवनका अनुभव र साहित्यिक यात्राका प्रसंगहरू पनि सुमधुर शैलीमा प्रस्तुत गरिन्। “म कैलालीमा जन्मिएँ, तर साहित्य सृजनाकै कारण सुदूरपूर्वको तपाईंहरूको गाउँमा आइपुगेँ,” उनले भनिन्, “गजल लेख्दै र वाचन गर्दै देश-विदेश भ्रमण गरिरहेकी छु। मनबाटै साहित्यमा लागे जीवन सहज हुन्छ भन्ने उदाहरण म स्वयं हुँ।”
कार्यक्रम फालेलुङ वाङ्मय प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र शिशिर केरुङको अध्यक्षता तथा फालेलुङ गाउँपालिकाका अध्यक्ष विरबिक्रम थाम्सुहाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा रंगवादी कवि धर्मेन्द्र विक्रम नेम्बाङ, समदर्शी काइँला, राजकुमार इशारा, आशिष आङबोलगायतका सर्जकहरूले कविता वाचन गरेका थिए।

साहित्यिक प्रस्तुतिसँगै कविता प्रतियोगितामा प्रथम स्थान सनबहादुर राई, दोस्रो मचिन्द्र लोवा तथा तृतीय गजेन वान्तावा र ज्ञानबहादुर राईले प्राप्त गरेका थिए। उनीहरूले क्रमशः १५ हजार, १० हजार र ५/५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
कार्यक्रममा लिम्बू समुदायको केलाङ नाच, राई समुदायको साकेला, मगर समुदायको हुर्रा, झाँकी प्रस्तुति तथा नौमती बाजा सहितको सांस्कृतिक र्यालीले कार्यक्रमलाई भव्य बनाएको थियो। प्रमुख तथा विशेष अतिथिहरूलाई गाउँपालिकाको केन्द्र थकेपुङबाट कार्यक्रमस्थल नाम्लुवा स्थित प्रेमवादी सामुदायिक भवनसम्म नौमती, च्याप्रुङ र साकेला टोलीको साथमा भव्य स्वागत गरिएको थियो।
वाङ्मय प्रतिष्ठान फालेलुङ नेपालमै पालिका तहमा पहिलोपटक गठन भएको प्रतिष्ठान हो। पहिलो वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन कुलपति भूपाल राईलाई प्रमुख अतिथिको रूपमा बोलाइएको थियो। दोस्रो वर्ष लोकगायिका ज्योति मगर र यस वर्ष गजलकार सुमन स्मारिकालाई ल्याइएको हो।
प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र शिशिर केरुङले पालिकाभित्रका कला, साहित्य र सिर्जनालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित हरेक वर्ष साहित्यिक कार्यक्रम गर्दै आइरहेको जानकारी दिए। गाउँपालिकाले पनि हरेक वर्ष पाँच लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएपनि, यस वर्ष प्रतिष्ठानलाई कार्यालय व्यवस्थापनसमेत गरिदिएकाले कार्यक्रमका लागि दुई लाख मात्रै विनियोजन गरिएको गाउँपालिका अध्यक्ष थाम्सुहाङले जानकारी दिए।
तस्वीरहरु–