पाँचथर। मच्छिन्द्र फुटबल क्लब, काठमाडौं पाँचथरको फिदिममा जारी पाँचौं संस्करणको वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ।

Nepalitheme

सदरमुकामस्थित फिदिम माविको खेलमैदानमा आज (बुधबार) सम्पन्न पहिलो सेमिफाइनल खेलमा मच्छिन्द्रले इन्ट्रा पथरी ११ फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

खेलको २३औं मिनेटमा विषाल घलानले गोल गर्दै मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफसम्म १–० ले पछि परेको पथरी ११ ले दोस्रो हाफमा पुनरागमन गर्दै ६६औं मिनेटमा अर्माण्ड विडोमको सुन्दर गोलमार्फत खेललाई बराबरीमा ल्याएको थियो।

तर, ८४औं मिनेटमा स्टेफनले गोल गर्दै मच्छिन्द्रलाई २–१ को अग्रता दिलाए। इन्जुरी समयमा नवयुग श्रेष्ठले गोल थपेपछि मच्छिन्द्रले ३–१ को सहज जित निकाल्दै उपाधि होडलाई अझ बलियो बनायो।

खेलमा उत्कृष्ठ प्रदर्शन गरेका स्टेफन ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे। पुरस्कार प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का प्रदेश अध्यक्ष हर्क बहादुर नेम्बाङ (मिक्सो) ले प्रदान गरे।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भोलि (बिहीबार) ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब र सप्तरीको नमो बुद्ध एफसीबीच हुनेछ।

प्रतियोगिताको फाइनल खेल चैत २ गते हुनेछ। आयोजक पाँचथर क्लबका अनुसार विजेता टोलीले नगद ११ लाख १ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले नगद ५ लाख ५५ हजार ५५५ रुपैयाँ हात पार्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय