
पाँचथर । विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को अन्तरले पराजित गर्दै सप्तरीको नमो बुद्ध एफसी पाँचथर सदरमुकाम फिदिममा जारी पाँचौं संस्करणको वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ।
फिदिम माविको खेलमैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा मोफसलको टोली नमो बुद्ध एफसीले पुलिस क्लबलाई स्तब्ध बनाएको हो। नमो बुद्धका लागि एलेक्सले दुई र दीपेश चाम्लिङ राईले एक गोल गर्दै टोलीलाई सहज जित दिलाए। खेलको म्यान अफ द म्याच नमो बुद्धका एलेक्स घोषित भए। उनले नगद ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे।
यस जितसँगै प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ। अब उपाधि प्रवेशका लागि बुधबार मच्छिन्द्र फुटबल क्लब र इन्ट्रा पथरी ११ बीच पहिलो सेमीफाइनल खेल हुनेछ। त्यस्तै, फागुन २९ गते हुने दोस्रो सेमीफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौं र नमो बुद्ध क्लब भिड्ने क्लवका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए।
प्रतियोगिताको फाइनल खेल चैत २ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद ११ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेता टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने पाँचथर क्लबले जनाए।