फिदिम।
न्यु रोड टिम (एनआरटी) पाँचथरको फिदिममा जारी ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ।
फिदिम माविको खेलमैदानमा बिहीबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा एनआरटीले सिराहाको सल्हेस युथ क्लबलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।
पेनाल्टी सुटआउटमा एनआरटीका अन्जन विष्ट, कृतिश छुर्जुव, अभिषेक लिम्बू, सरोज तामाङ र कार्लोसले गोल गरे। सल्हेसका कुलदीप कार्की, विवेक राई, दोर्जे तामाङ र फागुराम थारुले मात्र गोल गर्न सके। हेन्रीको प्रहार एनआरटीका गोलकिपर प्रमिजय गच्छेदारले उत्कृष्ट बचाउ गर्दा सल्हेस युथ क्लब पहिलो खेलमै प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।
खेलको ‘म्यान अफ द म्याच’ एनआरटीका अभिषेक लिम्बू घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो सेमीफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिए।
पुस १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख ५५५ रुपैयाँ र उपविजेताले नगद ५ लाख ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।