फालेलुङ, पाँचथर।
फालेलुङ–२ जोरपाटीस्थित सिद्धकाली माध्यमिक विद्यालयको ६९औं वार्षिक उत्सवको अवसरमा समाजसेवी मिना केरुङ र नरेन्द्रराज केरुङको पहलमा विद्यार्थीलाई न्यानो कपडा (ट्रेकसुट) वितरण गरिएको छ।
मंसिर ३० गते विद्यालयले एक विशेष कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको थियो। सोही अवसरमा २० जोर ट्रेकसुट विद्यार्थीहरूलाई प्रदान गरिएको र ब्याडमिन्टन प्रतियोगिताका लागि ट्रफी पनि उपलब्ध गराइएको समाजसेवी नरेन्द्रराज केरुङले जानकारी दिनुभयो।
फालेलुङ–२ जोरपाटी घर भई हाल विदेशमा बसोबास गर्दै आएकी मिना केरुङले यसअघि विद्यालय भवन निर्माणका लागि ३२ हजारभन्दा बढी र फर्निचरका लागि ५० हजारभन्दा बढी आर्थिक सहयोग प्रदान गरिसकेकी छिन्। मिना केरुङले आफू सानो छँदा यही विद्यालयबाट पढाइ सुरु गरेको र उनका बाबुको पनि विद्यालयमा ठूलो योगदान रहेको स्मरण गर्दै आफ्नो सहयोग जारी राख्ने बताइन्।
उक्त कार्यक्रममा मिना केरुङलाई दोसल्ला ओढाएर र सम्मानपत्र प्रदान गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम केरुङले सम्मान गरेका थिए। अध्यक्ष केरुङका अनुसार विद्यालयले वार्षिकोत्सवको अवसरमा तीन दिनसम्म विविध कार्यक्रमहरूको आयोजना गरेको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा समाजसेवी मिना केरुङको उपस्थिति रहेको थियो भने विशेष अतिथिमा फालेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन योङ्या, पूर्व अधिकृत डम्बरबहादुर आङ्देम्बे, समाजसेवी नरेन्द्रराज केरुङ र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
समाजसेवी मिना केरुङले प्रवासमा बसेर विभिन्न सामाजिक अभियानहरूमा संलग्न रहँदै आएकी छिन्। विद्यालय व्यवस्थापन समितिले मिना केरुङको योगदानको उच्च मूल्यांकन गर्दै धन्यवाद व्यक्त गरेको छ।