फालेलुङ, पाँचथर ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) फालेलुङ गाउँपालिका कमिटीले फालेलुङ–५, प्राङबुङ, डाँडागाउँमा गत भदौ १३ गते भएको विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते र मृतकका परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
मंसिर १७ गते पार्टीका प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) को उपस्थितिमा १ लाख ३४ हजार रुपैयाँ राहत हस्तान्तरण गरिएको फालेलुङ पालिका कमिटी अध्यक्ष वृद्धिमान सावदेन (विश्वास) ले जानकारी दिनुभयो। घटनामा घाइते भएका दुईजनालाई २५ हजारका दरले र मृतक दुई बालबालिकाका परिवारलाई ८४ हजार रुपैयाँ प्रदान गरिएको सावदेनले बताउनुभयो ।
भदौ १३ गते दिउँसो ३:३० बजे डाँडागाउँस्थित आइतराज केरुङको घरमा खेलिरहेका चारजना बालबालिका विस्फोटमा परेर घाइते भएका थिए। घटनास्थलमा बेलुकी एउटा गृनेटसमेत फेला परेको थियो। तर, के कारणले विस्फोट भएको हो भन्ने अझै खुल्न सकेको छैन।
घटनामा चेली माइती ११ वर्षीय दीप्शन सावाँ र अढाई वर्षकी प्रिन्सा सावाँ गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो। मृत्यु भएका दीप्शन र प्रिन्सा, दिलिप सावाँ र पूजा सावाँका दुईमात्र सन्तान हुन्। विदेशमा रहेका श्रीमान दिलिपको अनुपस्थितिमा आमा पूजाले दुई सन्तान गुमाउनु परेको पीडा व्यक्त गर्दै कुनै निकायबाट अझै सहयोग नपाएको गुनासो गरिन्।
घटनामा घाइते भएका अरु दुई बालकहरू ७ वर्षीय दीप्शन राई र १२ वर्षीय पवन राई थिए। दीप्शन राईका बाबुआमा दीपक राई र प्रेमकुमारी राई हुन् भने पवन राईका बाबुआमा ज्ञानबहादुर राई र कृष्णमाया माबो राई हुन्।
घटनापछि घाइते चारैजनालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको थियो। सामान्य घाइते दुईजनाको जिल्ला अस्पतालमै उपचार गरिएको थियो। तर, गम्भीर घाइते दीप्शन सावाँ र प्रिन्सा सावाँलाई झापाको बीएन्डसी अस्पताल पठाइएको थियो।
प्रिन्सा सावाँको इलाम पुर्याउदै बाटैमा मृत्यु भयो र दीप्शन सावाँको बीएन्डसीमा उपचारकै क्रममा मृत्यु भयो। जीवित रहेका अन्य दुई बालकहरूलाई कोशी अस्पताल, मोरङमा उपचार गराइएको थियो। आर्थिक अवस्था कमजोर भएकाले पछि उनीहरूलाई फालेलुङ गाउँपालिकाको सहयोगमा काठमाडौँको किर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो। सरकारी निशुल्क उपचारपछि उनीहरू अहिले गाउँ फर्किएका छन्।
माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रदेश सांसद इन्द्रबहादुर आङ्बो (मौसम) ले राहत हस्तान्तरण कार्यक्रममा सहभागी हुँदै घटनापीडितलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले घटनाको कारणबारे छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने धारणा पनि राख्नुभयो।
यसअघि, फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन विकास संस्था, दीपज्योति युवा क्लब र फालेलुङ सेवा समाजजस्ता स्थानीय संघसंस्थाले पनि पीडित परिवारलाई राहत र सहयोग गरेका थिए।
दुई सन्तान गुमाएकी आमा पूजाले आँसु झार्दै आफूले न्याय नपाएको बताइन्। “कोख रित्तियो, दुई सन्तान गुम्यो। न्याय खै?” पूजाले गुनासो गरिन्।