पाँचथरः ‘फाल्गुनन्द प्रज्ञा प्रतिष्ठान’ को संयोजकमा मन कुमार लावती (समदर्शी काइँला) लाई मनोनित गरिएको छ । चैत्र १२ गते फाल्गुनन्द गाउँपालिकाको कार्यपालिका बैठकले फाल्गुनन्द प्रज्ञा प्रतिष्ठान ऐन, २०८१ को दफा ७ बमोजिम प्रतिष्ठान सभाको अध्यक्ष पदमा लावतीलाई मनोनित गरेको हो ।
गाउँपालिका भित्र रहेका भाषा, कला, संस्कृति एवं साहित्य तथा वाङ्मयको संरक्षण र सम्वर्द्धन गर्ने उदेश्यले यस पालिकाले २०८१/०८२ को नीति तथा कार्यक्रममा समावेश गरि ‘फाल्गुनन्द प्रज्ञा प्रतिष्ठान’ स्थापना गर्ने कार्यक्रम बानएको थियो । यसै अनुरुप गाउँसभाबाट पारित भएको नीति अनुसार हाल प्रतिष्ठानको संयोजक मनोनित गरेको छ ।
पालिकाको ३ नम्बर वडास्थित पौवासारताप निवासी काइँला यस क्षेत्रमा समर्पित प्रतिष्ठित प्रतिभाहरुको पहिचान गर्न योग्य रहेको ठहर गर्दै जिम्मेवारी दिइएको पालिका अध्यक्ष वृजहाङ आङदेम्बेले जानकारी दिए ।
कवि, बहुरङवादका संस्थापक, पाँच पुस्तकका लेखक साथै पाथीभरा माध्यमिक विद्यालयका प्रिन्सिपलसमेत रहेका लेखक लावती साहित्य लेखनको कलामा निक्कै परिचित व्यक्तित्वको रुपमा चिनिन्छन् । विगत लामो समयदेखि साहित्य कलामा कलम चलाउँदै आएका लेखक हुन् । उनको नेतृत्वमा बनेको यस संस्थाले पालिकाको विभिन्न क्षेत्रमा प्रतिष्ठानको उदेश्य बमोजिमका गतिविधि सञ्चालन गर्ने जनाइएको छ ।
हाल उनी संयोजक रहेको प्रतिष्ठानको कार्यसमितिलाई छिट्टै पूर्णता दिने पालिका उपाध्यक्ष ठाकुरसिं नेम्बाङले जानकारी दिए । प्रतिष्ठानमा २१ जनाको सभा रहन्छ भने नौ जनाको कार्यसमिति निर्माण हुने ऐनमा उल्लेख छ । पालिका भित्रको १ नम्बर वडादेखि ७ सम्मका भाषा, कला, संस्कृति एवं साहित्य तथा वाङ्मयको क्षेत्रमा सकृय व्यक्तित्व समितिमा रहने जनाइएको छ । गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा सिफारिस समिति बन्ने र समितिबाट सिफारिस हुने व्यक्तिलाई गाउँपालिका अध्यक्ष मार्फत मनोनित गरिने प्रावधान रहेको छ । उपाध्यक्ष र कोषाध्यक्ष भने २१ जनाको सभाबाट चुनिने छ । समितिको सचिवमा पालिकाको शिक्षा तथा युवा खेलकुद शाखाको प्रमुख रहने व्यवस्था छ । प्रतिष्ठानको माध्यमबाट पालिकालाई देश तथा विदेशमा चिनाउन प्रयत्न गरिने साथै आवश्यता अनुसारका कार्यक्रमहरु परिमार्जित गर्दै लैजाने लक्ष्य लिएको छ । इलाम जिल्लासंग सिमाना जोडिएको जिल्लाको दक्षिणी भू-भागमा रहेको यस पालिकाले सबै जातजाती,भाषा,भाषी र धर्मावलम्बीहरुलाई सम्मान साथै सबैको उत्थान र संरक्षण हुने कार्यक्रमहरु गर्दै आएको छ ।