नेपाली कांग्रेस संस्थापनले गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेपछि विशेष महाधिवेशनस्थल भृकुटीमण्डपको माहोल झन् तातिएको छ । यसअघिभन्दा धेरै कार्यकर्ताको जमघट भृकुटीमण्डपमा देखिन्छ ।

Pasupati Ayurvedic
Nepalitheme

‘अब के होला ?, निर्वाचन आयोगले आधिकारिकता नदिए के होला ?,’ विशेष महाधिवेशन पक्षधर कार्यकर्ता अन्योलमा देखिन्छन् । कतै अब यही कारण चुनावसर्ने त होइन भन्ने आशंका पनि देखिन्छ ।

‘अघि बढ गगन दाइ…,’ भन्दै कार्यकर्ता नाराबाजी गरिरहेका छन् । भृकुटीमण्डप आएका कांग्रेस कार्यकर्ता कति उत्साही छन् भने कति निराश र अन्यौलग्रस्त देखिन्छन् ।

ऊनको स्वीटर टेजर

भृकुटीमण्डपमा भेटिएकी लक्ष्मी दाहाल, योसँगै भ्रष्ट कांग्रेस र प्रष्ट कांग्रेस छुट्टिएको बताउँछिन् । सुसंस्कृत राजनीतिको मुद्दा बोक्दै समय सापेक्ष ढंगमा कांग्रेसलाई अघि बढाउँदा कसैले कारबाही गर्छ भने त्यो गर्नेहरूकै समस्या रहेको उनले बताइन् ।

त्यस्तै, विशेष महाधिवेशनले यसअघि नै भङ्ग गरिसकेको केन्द्रीय समितीले कसैलाई कारबाही गर्नुको कुनै तुक नरहेको दाहालको भनाइ छ ।

‘उहाँहरू (केन्द्रीय समिति)लाई विशेष महाधिवेशनले भङ्ग गरिसकेको छ । अनि कुन आधारमा उहाँहरूले कारबाही गर्नुहुन्छ ? यो कारबाहीको कुनै तुक छैन,’ दाहालले भनिन् ।

अब कांग्रेस र देशको नेतृत्व नै गगन–विश्वले गर्ने बताउँदै उनले यही कांग्रेसलाई आयोग र जनता दुवैले अनुमोदन गर्ने दाबी गरिन् । कांग्रेस महासमिति सदस्य जाजरकोटका जनकबहादुर नेपाली वादी भने यसलाई पार्टी फुटेको भन्न नमिल्ने बताउँछन् ।

विशेष महाधिवेशनले भङ्ग गरिसकेको कार्यसमितिले गगन–विश्व लगायतका नेतालाई कारबाही गर्नुको कुनै तुक नरहेको वादीको भनाइ छ । ‘बहुमत महाधिवेशन प्रतिनिधि यता छौं । हामीले विशेष अधिवेशन आह्वान गरेर सबै भङ्ग गरेपछि त्यसले कसरी कारबाही गर्छ ? त्यसैले कांग्रेस हाम्रो हो, फुटेको छैन,’ उनले दाबी गरे ।

वादीका अनुसार यो विशेष महाधिवेशनले कुनै नेतालाई कारबाही गरेको छैन । सबै नेता कांग्रेसमै छन् । ‘यदि उहाँहरू नै कांग्रेस छोडेर जानुभयो भने अर्को कुरा, नत्र हामीले कारबाही गरेका छैनौं,’ उनले दाबी गरे, ‘शेरबहादुर एन्ड टिमले विशेष महाधिवेशनको निर्णय नस्वीकार्नुको विकल्प छैन ।’

कानुन बमोजिम निर्वाचन आयोग र अदालतले पनि विशेष महाधिवेशनलाई अधिकारिक मान्ने वादीको विश्वास छ । विशेष महाधिवेशन पहिलोपटक १४ सालमा पनि भएको बताउँदै उनले दोस्रो विशेष महाधिवेशनलाई वैधानिक नमान्नुपर्ने कुनै कारण नरहेको बताए । आयोगले आधिकारिकता नदिए आयोगमै धर्नामा बस्ने वादीको भनाइ छ ।

त्यस्तै, भृकुटीमण्डपमा आएका कांग्रेस युवा विनोदराज जोशीले पनि आफूहरू आधिकारिक कांग्रेस हुने दाबी गरे । भदौ २३ र २४ को आन्दोलनपछि युवाहरूको भावना सम्बोधन गर्न बहुमत कांग्रेस महाधिवेशन प्रतिनिधिले यो निर्णय लिएको दाबी जोशीले गरे ।

‘बहुमत जता, कांग्रेस त्यतै हो । र, त्यो चार तारा र रुख हाम्रै हुन्छ भन्नेमा ढुक्क छु,’ जोशीले आयोगप्रति सन्देह व्यक्त गर्दै भने, ‘तर, आयोगमा कुनै षड्यन्त्र भयो वा विधानविपरीत निर्णय भयो भने त्यो धोका हुन्छ । हामी आयोगलाई पनि चेतावनी दिन्छौं ।’

तर, यदि आयोगले विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिएन भने के गर्नुहुन्छ ? अनलाइनखबरको प्रश्नमा जोशीले जता कांग्रेस विचार हुन्छ आफू त्यतै रहने बताए ।

‘नाम, चिह्न, झन्डा सबै प्राविधिक कुरा हो । नाम छ, तर विचार छैन भने त्यो कांग्रेस हुन्न। विचारमा कांग्रेस जहाँ रहन्छ हामी त्यही हुन्छौं,’ जोशीले भने ।

त्यस्तै, शेरबहादुर देउवाले आफ्नो राजनीति जीवनको उत्तरार्धमा स–सम्मान बाहिरिने मौका गुमाएको जोशीले बताए । उनले थपे, ‘देउवाले त्यो गुमाउनुभयो । वैधानिक रूपमा कल गरिएको यो महाधिवेशन नमान्नु उहाँको भूल हो । आमजनको भावना नबुझ्नेहरूको हठले आज कांग्रेसजन निराशामा छन् ।’

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय