पाँचथर।
झापा जिल्लाको भद्रपुरमा दुर्घटनामा परेको बुद्ध एयरको जहाजबाट यात्रुहरूलाई सुरक्षित रूपमा उद्धार गर्न महत्वपूर्ण भूमिका खेलेको पाँचथर फालेलुङ गाउँपालिका निवासी उमेश मोक्तान तामाङलाई एयरलाइन्सले एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ।
दुर्घटनाको बेला मोक्तानले जहाजको अगाडिपट्टिको दायाँ ढोका समयमै खोल्न सहयोग गरी अन्य यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न महत्वपूर्ण योगदान दिएको भन्दै कम्पनीले उनको उच्च मूल्याङ्कन गरेको हो।

उनको साहसिक र तत्पर भूमिकाको कदर गर्दै मंगलबार भद्रपुरमा आयोजित कार्यक्रममा बुद्ध एयरले मोक्तानलाई नगद पुरस्कारसहित सम्मान गरेको जनाएको छ। कम्पनीका अनुसार संकटको घडीमा देखाएको मोक्तानको जिम्मेवार व्यवहार सबैका लागि प्रेरणादायी बनेको छ।
पुस १८ गते राति काठमाडौंबाट भद्रपुर आएका बुद्ध एयरको जहाज विमानस्थलमा अवतरणका क्रममा ओभर रन भई धावनमार्गबाट करिब १५० मिटर पर रहेको खोल्सामा पुगेको थियो। उक्त जहाजमा चालक दलका चार सदस्यसहित ५५ जना सवार थिए।







