पाँचथर । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयमुक्त रूपमा सम्पन्न गर्न सरकारले निर्वाचन प्रहरी (साविकको म्यादी प्रहरी) भर्नाका लागि आवेदन दर्ता खुलाएको छ।
सुरक्षा व्यवस्थापनका लागि पाँचथरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले थप जनशक्ति माग गरेपछि आवेदन संकलन सुरु गरिएको हो। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिसकुमार कर्णका अनुसार आवेदन खुला भएको तीन दिनको अवधिमा नेपाल प्रहरीतर्फ २२० जना र सशस्त्र प्रहरी बलतर्फ ४७ जना गरी कुल २६७ जनाले आवेदन दर्ता गराएका छन्।
डिएसपी कर्णका अनुसार पाँचथरमा १ हजार २ सय २७ जना निर्वाचन प्रहरी आवश्यक रहेको छ। निर्वाचन प्रहरीका लागि आवेदन माघ १ गतेसम्म खुला रहने जनाइएको छ। शनिबार तथा सार्वजनिक बिदाका दिनमा समेत आवेदन फाराम बुझाउन सकिने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

देशभर निर्वाचन सुरक्षाका लागि कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने लक्ष्य राखिएको छ। यसमध्ये नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्र प्रहरी बलले १५ हजार ११० जनाको माग गरेको छ।
निर्वाचन प्रहरी बन्नका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ। उम्मेदवार साधारण लेखपढ गर्न जान्ने हुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य नभएको, नैतिक पतन देखिने फौजदारी अभियोग नलागेको तथा शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्ने मापदण्ड तोकिएको छ।





