ताप्लेजुङ । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री (पराग) ले दलित प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। शुक्रबार फुङ्लिङमा आयोजित छलफलमा पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस हुनुभएका नेता बुढाक्षेत्रीले दलित समुदायका समस्या, चुनौती र समाधानका उपायबारे परामर्श गर्नुभएको हो।
छलफलमा नेता बुढाक्षेत्रीले दलित समुदायका साझा मुद्दा, राज्यको भूमिका तथा आगामी दिनमा आफूले निर्वाह गर्न सक्ने राजनीतिक जिम्मेवारीका विषयमा धारणा राख्नुभयो। दलित प्रतिनिधिहरूले समाजमा जातीय विभेद अझै पूर्ण रूपमा अन्त्य हुन नसकेको उल्लेख गर्दै विभेद अन्त्यका लागि ठोस र प्रभावकारी कदम चाल्न सुझाव दिएका थिए। उनीहरूले दलितप्रति हेर्ने दृष्टिकोण केही हदसम्म सुधार भए पनि व्यवहारिक रूपमा विभेद कायमै रहेको गुनासो गर्दै नेपाली कम्युनिष्ट पार्टीले नेतृत्वदायी भूमिकामा दलित समुदायलाई अघि सार्न आग्रह गरेका छन्।
छलफलमा दलित अगुवा नेत्र नेपालीले संस्कार र संस्कृतिमा दलितप्रतिको विभेद केही परिवर्तन भएको जस्तो देखिए पनि विभेदको स्वरूप मात्रै परिवर्तन भएको धारणा राख्नुभयो। उहाँले दलित समुदायलाई प्रदान गरिँदै आएको छात्रवृत्ति प्रणाली परम्परागत ढाँचामै सीमित रहेकाले त्यसमा सुधार आवश्यक रहेको औँल्याउनुभयो।

यस्तै, दलित अगुवा गंगाराम शंकरले संविधानको प्रभावकारी कार्यान्वयन नहुँदा दलितका मुद्दा ओझेलमा परेको बताउनुभयो। दलित भएकै कारण अन्तरजातीय विवाह गर्दा धेरै दलितहरू पीडित बन्नु परेको उल्लेख गर्दै उहाँले राज्यले यसप्रति गम्भीर चासो दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। अर्का दलित अगुवा नर्जुङ सुनामले दलित समुदायका मुद्दामा सबै राजनीतिक दलको दृढ संकल्प आवश्यक रहेको बताउनुभयो।
नेता बुढाक्षेत्रीले आफू दलित समुदायमाथि हुने विभेद देख्दै र भोग्दै हुर्किएको स्मरण गर्दै दलितका पीडाका पक्षमा सधैँ वकालत गर्दै आएको बताउनुभयो। उहाँले निर्वाचनमा होमिँदै गर्दा दलित समुदायका माग र मुद्दालाई सशक्त रूपमा उठाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
छलफल कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य निता सिवा, दलित अगुवा अमर लाम्गादे लगायतले दलित समस्या, समाधानका उपाय र पार्टीले खेल्न सक्ने भूमिकाबारे नेता बुढाक्षेत्रीसमक्ष आफ्ना धारणा राखेका थिए।





