पाँचथर । पाँचथरको याङवरक–१, च्याङ्थापुमा यही पुस २० गतेदेखि परम्परागत पुसे मेला सुरु हुने भएको छ।
सूर्य प्रभात युवा क्लबको आयोजनामा हुन लागेको मेलामा यस वर्ष खुला पुरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता समेत आयोजना गरिने क्लबका मेला प्रचार संयोजक विमल चाम्लिङले जानकारी दिनुभयो।
फुटबल प्रतियोगिता पुस २० गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ। पुरुषतर्फ विजेता टिमले नगद ६१ हजार ९ सय ९९ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

महिलातर्फ विजेता टिमलाई नगद ३० हजार ९ सय ९९ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टिमले नगद १५ हजार ९ सय ९९ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
मेला तथा खेलकुद कार्यक्रमको समापन दिवसमा चर्चित कलाकारहरूको प्रस्तुति रहने वेजोड सांगीतिक कार्यक्रम समेत आयोजना गरिएको चाम्लिङले बताउनुभयो।






