नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ।
पार्टी प्रवक्ता प्रकाश शरण महतका अनुसार कांग्रेसले तयार पारेको १ सय १० जनाको बन्द सूची आजै आयोगमा बुझाउन लागेको हो।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समिति बैठकले नामावलीका विषयमा टुंगो लगाएपछि केही प्राविधिक काम मात्र बाँकी रहेको पार्टी स्रोतले जनाएको छ।

निर्वाचन आयोगले तोेकेको फागुन २१ को कार्यतालिका अनुसार आज भित्र दलहरूले समानुपातिक तर्फको बन्द सूची बुझाइसक्नुपर्ने व्यवस्था छ।
पार्टी पदाधिकारीहरूमध्ये सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नाम मात्र समानुपातिकको बन्द सूचीमा राखिएको प्रवक्ता महतले जानकारी दिनुभयो।
महतले संक्षिप्त प्रतिक्रिया दिँदै सहमहामन्त्री आङ्देम्बेले आफूले अघिल्लो चुनावकै समयमा प्रत्यक्षमा नउठ्ने घोषणा गरिसकेको र त्यस निर्णयलाई इमान्दारीपूर्वक कार्यान्वयन गरेको बताउनुभयो।
यद्यपि आङ्देम्बेलाई कांग्रेस पाँचथर जिल्ला कार्यसमितिले प्रत्यक्ष तर्फका उम्मेदवारका रूपमा पनि सिफारिस गरिसकेको छ।
कांग्रेसले यसपटक पार्टीभित्र औपचारिक पदमा नरहेका तर निरन्तर संगठन र क्षेत्रीय काममा सक्रिय रहेका नेताहरूलाई समानुपातिक सूचीमार्फत अवसर दिएको जनाएको छ।





