पाँचथर । राष्ट्रिय महिला आयोगकी सदस्य एवं प्रवक्ता माननीय कृष्णा कुमारी पौडेल (खतिवडा) आइतबार फिदिममा सम्मानित भएकी छन्। संयुक्त महिला अधिकार समन्वय सञ्जाल पाँचथर र महिला मानव अधिकार रक्षक सञ्जाल पाँचथरले फिदिम नगरपालिका सभाहलमा आयोजित विशेष कार्यक्रममा पौडेललाई सम्मान पत्रसहित सम्मान प्रदान गरेको हो।
‘राजनैतिक पदाधिकारीहरुसँग संविधान, नीति तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौतामा रहेका लैङ्गिक न्यायका सवालमा अन्तरक्रिया’ शीर्षकको कार्यक्रममा पुगेकी पौडेललाई महिलाको अधिकार, बालबालिकाको संरक्षण तथा सामाजिक क्षेत्रमा गरेको निरन्तर योगदानका आधारमा सम्मान गरिएको आयोजक सञ्जालले जनाएको छ।
पाँचथरको याङवरक गाउँपालिका–१ फलैचामा जन्मेकी पौडेल जिल्लाको विशेषतः दुर्गम क्षेत्रमै रहेर महिला तथा बालबालिका अधिकारका विषयमा दीर्घकालीन रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी सक्रिय र साहसी महिला नेतृको रूपमा परिचित छिन्। उनी नेपाली कांग्रेस पाँचथरको नेतृसमेत हुन्। पछिल्लो समय उनी राष्ट्रिय महिला आयोगकी सदस्यका रूपमा जिम्मेवारी सम्हालिरहेकी छन्।

कार्यक्रम राष्ट्रिय महिला आयोगको सहआयोजनामा भएको हो। काठमाडौँबाट आएका आयोगका प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका नेता, स्थानीय तहका प्रमुख–उपप्रमुख, सरकारी कार्यालयका प्रमुख तथा महिला सञ्जालका प्रतिनिधिहरूको सहभागितामा अन्तरक्रिया सम्पन्न भयो। कार्यक्रममा जिल्ला अदालतका न्यायाधीश कुमार मास्केले न्यायसम्बन्धी कार्यपत्र प्रस्तुत गरे भने राष्ट्रिय महिला आयोगकी उपसचिव रोशनी देवी कार्कीले संविधान, कानुन तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौतामा रहेका महिला अधिकारसम्बन्धी व्यवस्थाबारे प्रस्तुतीकरण गरिन्।
कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरप्रमुख मित्रप्रसाद काफ्ले रहेका थिए। विशेष अतिथिमा जिल्ला समन्वय समितिका उपप्रमुख याम बहादुर आङ्बो, फिदिम उपप्रमुख राधाकृष्ण न्यौपाने, हिलिहाङ गाउँपालिका उपाध्यक्ष सुमित्रा सेढाई, याङवरक गाउँपालिकाकी पूर्व उपाध्यक्ष, फाल्गुनन्द गाउँपालिका उपाध्यक्ष ठाकुरसिंह नेम्वाङ, तुम्बेवा गाउँपालिका उपाध्यक्ष खड्क सुन्दर सम्बाहाम्फे, जिल्ला अदालतका न्यायाधीश कुमार मास्के, प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, सुरक्षा निकायका प्रमुख तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
अन्त्यमा, अन्तरक्रियामा उठेका विषय र सहभागिहरूका सुझाव समेट्दै कार्यक्रमकी सभाध्यक्ष पौडेलले कार्यक्रम समापन गरेकी थिइन्।






