विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले वर्तमान कोशी प्रदेश सरकारले संसदको हिउँदे अधिवेशन आह्वान गर्न आलटाल गर्दै जनगुनासो र भ्रष्टाचारका मुद्दाबाट उम्किन खोजेको आरोप लगाएका छन्।

Nepalitheme

आज संसद सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता आङ्बोले अघिल्लो बजेट अधिवेशन ‘जेन्जी’ आन्दोलनका कारण स्थगित भएको र अहिले हिउँदे अधिवेशन समयमै सुरु हुने अपेक्षा रहे पनि सरकारले कुनै तयारी नगरेको बताए। “पूर्वाधारको समस्या देखाएर संसद पन्छाउन खोजिँदैछ,” उनले भने, “बैठक कक्ष निर्माणका लागि बल्ल ठेक्का प्रक्रिया सुरु भएको छ, जसलाई सम्पन्न हुन अझै दुई महिना लाग्न सक्छ। यसरी उद्देश्यपूर्वक ढिलाइ गरेर प्रदेश संसदको औचित्य समाप्त पार्ने खेल भइरहेको छ।”

उनका अनुसार सरकारको वास्तविक समस्या पूर्वाधार होइन, सरकारले भोगिरहेको चरम भ्रष्टाचार र बेथिति हो। मुख्यमन्त्री कार्यालयबाटै सार्वजनिक भएको क्युआर कोड काण्ड, स्वास्थ्य मन्त्रालयमा मन्त्रीका स्वकीय सचिवमार्फत पैसा उठाएको आरोप, कृषि मन्त्रीले सचिवको गाडीको चाबी खोस्ने जस्ता घटनाले सरकारको सुशासनप्रति गम्भीर प्रश्न उठाएको उनले उल्लेख गरे।

ऊनको स्वीटर टेजर

“यी सबै विषयमा मुख्यमन्त्री संसदमा उभिएर जवाफ दिनुपर्छ, तर उहाँसँग ती प्रश्नको सामना गर्ने नैतिक साहस छैन,” आङ्बोले भने। उनले सरकारका नीति, कार्यक्रम र बजेट ‘पूर्ण रूपमा असफल’ भएको जिकिर गर्दै थपे, “लगानी सम्मेलन, चिया सम्मेलन र पर्यटन वर्षजस्ता कार्यक्रम तामझाममै सीमित रहे, उपलब्धि शून्य छ।”

समाजमा ‘जेन्जी’ आन्दोलनपछिका त्रासदी र सुरक्षा चुनौती अझै कायम रहेको उल्लेख गर्दै आङ्बोले जनसरोकारका विषयमाथि छलफल हुने थलो संसदलाई बन्धक बनाइएको आरोप लगाए।

उनले अन्य वैकल्पिक पूर्वाधार प्रयोग गरेर भए पनि हिउँदे अधिवेशन तत्काल बोलाउन सरकारलाई माग गरे। “भवन नपुग्ने बहाना नबनाई संसद आह्वान गर्न ढिलाइ बन्द गरियोस्,” उनले चेतावनी दिए।

विपक्षी दलका तर्फबाट पटक–पटक सरकारलाई जवाफदेही बनाउन आग्रह गरे पनि सरकारले वास्ता नगरेको आरोप लगाउँदै नेता आङ्बोले सरकारले आफ्नो असफलताबाट जनताको ध्यान हटाउन संसद नै नचलाई बसिरहेको दाबी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय