पाँचथर । नेपाली कम्युनिस्ट पार्टी पाँचथर जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि हर्कबहादुर नेम्वाङ (मिक्सो) सर्वसहमत रूपमा उम्मेदवार चयन भएका छन्।
मंगलबार बसेको जिल्ला कमिटीको बैठकले प्रत्यक्ष प्रतिनिधि सभा निर्वाचनका लागि नेम्वाङको नाम सर्वसम्मत सिफारिस गरेको पार्टीका जिल्ला संयोजक विशाल रसाइलीले जानकारी दिनुभयो।
उक्त बैठकले राष्ट्रिय सभा सदस्यका लागि खुला तर्फ प्रेम प्रसाद रिजाल र दलित तर्फ भवानी संखरको नाम सिफारिस गरेको छ। त्यस्तै, समानुपातिक तर्फ सीता थेवे, अन्जु काम्वाङ, ताराबीर खपाङ्गे र इन्दिरा घिमिरेलाई सिफारिस गरिएको संयोजक रसाइलीले बताउनुभयो।
यसअघि भदौ २३ र २४ गतेको आन्दोलनपछि तत्कालीन नेपाली काँग्रेस र नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि जेनजी समूहको नेतृत्वमा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। सो सरकारद्वारा फाल्गुन २१ गते निर्वाचन तोकिएपछि देशभर दलहरूले उम्मेदवारी सिफारिस प्रक्रिया अघि बढाएका छन्। पाँचथरमा नेपाली काँग्रेस, राष्ट्रिय परिवर्तन पार्टी, श्रम संस्कृति पार्टीलगायत विभिन्न राजनीतिक दलले आफ्ना उम्मेदवार सिफारिस गरिसकेका छन्।

नेपाली कम्युनिस्ट पार्टीबाट सिफारिस भएका नेम्वाङ यसअघि नेकपा माओवादी केन्द्रको कोशी प्रदेश कमिटी अध्यक्षसमेत रहिसक्नु भएको छ। जनयुद्धकालदेखि नै सक्रिय उहाँ पार्टी भित्र लोकप्रिय नेता मानिन्छन्। जनयुद्धकालमा गोली लागेर घाइते भएका साथै पछिल्लो समय विकासप्रेमी नेतृत्वको रूपमा पहिचान बनाउँदै आउनुभएको छ।
तत्कालीन १६ घटकबीचको एकता प्रक्रियामार्फत हालको नेपाल कम्युनिस्ट पार्टी निर्माण भएको हो। पाँचथर जिल्लामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी—दुवै दलबाट कोशी प्रदेशसभा सदस्य निर्वाचित भइसकेका छन्।





