पाँचथर।
नेकपा एमालेको ११औँ महाधिवेशनबाट पाँचथर जिल्लाबाट तीन जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
बिहीबार निर्वाचन प्रक्रियाअन्तर्गत मतगणना सम्पन्न भएपछि पाँचथरबाट आइन्द्रसुन्दर नेम्वाङ, आशारत्न जबेगू र भूमिका सुब्बा केन्द्रीय सदस्यमा विजयी भएका हुन्।

आदिवासी जनजाति क्लस्टरबाट उम्मेदवार बनेका आइन्द्रसुन्दर नेम्वाङले १ हजार ६ सय ९९ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। नेम्वाङ यसअघि पनि एमालेको केन्द्रीय सदस्य रहिसकेका छन् भने संविधानसभा सदस्यसमेत भइसकेका छन्।
यस्तै पाँचथर जिल्लाबाट प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री बसन्त नेम्वाङकी धर्मपत्नी भूमिका सुब्बाले १ हजार ८ सय ९८ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा स्थान बनाएकी छन्। सुब्बा यसअघि एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासंघको अध्यक्षसमेत भइसकेकी छन्।
त्यस्तै आदिवासी महिला क्लस्टरबाट आशारत्न जबेगू १ हजार ६ सय ५ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। जबेगू कोशी प्रदेशको पूर्व सांसदसमेत हुन्।





