तागेरा तावाहङ लिम्बू, पाँचथर।
पाँचथर जिल्लामा दुई हजार ६ सय ९० जना नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालय पाँचथरका अनुसार असोज १० गतेदेखि कार्तिक ३० गतेसम्म ९ सय २४ पुरुष र ७ सय ७५ महिला मतदाताले नाम दर्ता गराएका हुन्। यस्तै, जिल्ला बाहिर रहेका ४३ पुरुष र ३५ महिलाले समेत मतदाता नामावलीमा नाम समावेश गराएका छन्।
भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनपछि प्रतिनिधिसभा खारेज भई शुशिला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले नयाँ मतदाता दर्ता खुला गरेको थियो।
यसअघि पाँचथरमा ७४ हजार ३ सय २८ पुरुष र ६६ हजार ८१ महिला गरी जम्मा १ लाख ४० हजार ४ सय ९ मतदाता रहेका थिए। प्रतिनिधिसभा विघटनपछि छोटो अवधिमै उल्लेख्य संख्यामा मतदाता नाम दर्ता भएको जिल्ला निर्वाचन कार्यालय पाँचथरका कर्मचारी अशोक घिसिङले जानकारी दिनुभयो। उहाँका अनुसार मतदाता नामावली अनलाइन प्रणालीमार्फत समेत दर्ता गरिएको हो।

यस अवधिमा १ सय १ जनाले त्रुटि सच्याएका छन् भने एक जनाले मतदान स्थल परिवर्तन गरेका छन्। आयोगले मंसिर २० गते मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको जनाएको छ। पाँचथरमा हुने मतदानका लागि १ सय २ मतदान स्थल र १ सय ७७ मतदान केन्द्र निर्धारण गरिएको छ।





