पाँचथर । राष्ट्रिय परिवर्तन पार्टी पाँचथरले संघीय संसदतर्फको प्रत्यक्ष उम्मेदवारमा पार्टीका जिल्ला अध्यक्ष टेकबहादुर लिम्बूलाई चयन गरेको छ।
आज फिदिममा आयोजित घोषणा सभाबाट पार्टीले लिम्बूलाई संघीय निर्वाचनका लागि प्रत्यक्ष उम्मेदवार तोकेको हो। भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै जेनजी युवाहरूको प्रतिनिधित्वमा सुसिला कार्कीको नेतृत्वमा ६ महिनाका लागि अन्तरिम सरकार गठन भएको थियो। सो अन्तरिम सरकारले फागुन २१ गते निर्वाचनको मिति तय गरेपछि नयाँ तथा पुराना राजनीतिक दलहरू उम्मेदवार छनोटमा सक्रिय भएका छन्। सोही क्रममा राष्ट्रिय परिवर्तन पार्टीले पनि घोषणा सभामार्फत प्रत्यक्ष उम्मेदवार सार्वजनिक गरेको हो।
संघीय संसद खारेज भएपछि विभिन्न दलहरूले उम्मेदवारी तय गर्ने प्रक्रिया अघि बढाइरहेका बेला पार्टीका केन्द्रीय अध्यक्ष राजेश पोर्तेलले उम्मेदवार लिम्बूलाई खादा ओढाएर शुभकामना व्यक्त गर्नुभयो।

फिदिमको पल्लोटार नयाँ बसपार्कमा सम्पन्न घोषणा सभामा जिल्लाभरबाट सयौं कार्यकर्ताको उपस्थिति रहेको थियो। पार्टी सचिव विकास थाम्सुहाङका अनुसार सो अवसरमा ४ सयभन्दा बढी व्यक्तिले विभिन्न दल परित्याग गरी राष्ट्रिय परिवर्तन पार्टीमा प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्नेहरूमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी तथा नेपाली कांग्रेसका कार्यकर्ता बढी रहेको उहाँले जानकारी दिनुभयो।
घोषणा सभाका प्रमुख अतिथि पार्टीका केन्द्रीय अध्यक्ष राजेश पोर्तेल रहनुभएको थियो। उहाँ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा दायाँ खुट्टा गुमाएपछि पनि पार्टी दर्ता गरी देशभर संगठन विस्तारमा सक्रिय रहनुभएको छ।
कार्यक्रममा वक्ताका रूपमा पूर्व आईजीपी शैलेन्द्र खनाल पनि सहभागी हुनुहुन्थ्यो। खनालले जेनजी आन्दोलनपछि समुन्नत नेपाल पार्टी दर्ता गरी अध्यक्षको जिम्मेवारी सम्हालिरहनुभएको उल्लेख गर्दै राष्ट्रिय परिवर्तन पार्टीसँग विचार, उद्देश्य र सिद्धान्त मिल्ने भएकाले आगामी दिनमा सहकार्य गर्दै निर्वाचनमा जाने सम्भावना रहेको बताउनुभयो। नेपाल प्रहरीमा ३० वर्ष सेवा गर्दा देशका धेरै नेताहरूलाई नजिकबाट चिनेको अनुभव सुनाउँदै उहाँले अब पुराना दलको विकल्पका रूपमा नयाँ राजनीतिक शक्तिलाई अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
त्यस्तै, पूर्व महासेनानी माधव सुन्दर खड्का, जो जनदेश पार्टीका वरिष्ठ नेता हुनुहुन्छ, ले पनि देशमा वास्तविक परिवर्तनका लागि राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गर्दै चुनावी मैदानमा उत्रिन सकिने संकेत गर्नुभयो।
घोषणा सभामा पार्टीका केन्द्रीय उपाध्यक्ष अजय राई, उपाध्यक्ष दिनेशचन्द्र खनाललगायत जेनजी युनाइटेड मुभमेन्टका सयौं नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।
राष्ट्रिय परिवर्तन पार्टीको चुनाव चिन्ह ‘बासुरी’ रहेको छ। घोषणा सभामा बासुरी बजाएर पार्टीको औपचारिक घोषणा गरिएको थियो।





