पाँचथर ।
पाँचथरमा जेनजी जेट रेड फोर्स गठन गरिएको छ। फोर्सको पहिलो गठन बैठकबाट दिलिप चापागाईलाई संयोजकमा चयन गरिएको हो। फिदिममा जेनजी जेट रेड फोर्सकी केन्द्रीय संयोजक स्मृति तिमसिनाको उपस्थितिमा पहिलोपटक समिति गठन गरिएको हो।
गठित समितिको सहसंयोजकमा प्रज्वल जबेगू, प्रवक्तामा रोदन विश्वकर्मा चयन गर्दै २१ सदस्यीय जिल्ला समिति घोषणा गरिएको आयोजकले जनाएको छ। बुधबार फिदिम बजारमा आयोजित भेलामार्फत फोर्सको औपचारिक गठन गरिएको हो।

समितिले जिल्लासँगै स्थानीय तह—पालिका तथा वडास्तरमा पनि संरचना विस्तार गर्ने तयारी गरेको संयोजक तिमसिनाले बताइन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि विभिन्न संगठन तथा समूहहरूले जेनजी फोर्सहरू गठन गर्दै आएका छन्। हाल देशका सबै जिल्लामा जेनजी रेड फोर्सको समिति गठन भइसकेको फोर्सले जनाएको छ।
देशमा व्याप्त भ्रष्टाचार र अनियमितताप्रति खबरदारी गर्ने उद्देश्यले फोर्स गठन गरिएको आयोजकले स्पष्ट पारेको छ। यसअघि जिल्लामा चन्द्रप्रकाश तुम्बापो संयोजक रहेका थिए।
गठन कार्यक्रममा फोर्सकी केन्द्रीय संयोजक स्मृति तिमसिना, सह–संयोजक अस्मिता खतिवडा, १ नम्बर प्रदेश संयोजक होमनाथ घिमिरे, नेकपा (माओवादी केन्द्र) पाँचथरका जिल्ला संयोजक विशाल रसाइली, वाइसिएल केन्द्रीय सचिव विक्रम संखर, विद्यार्थी संगठन १ नम्बर प्रदेश संयोजक चन्द्र माङ्मु लगायतको उपस्थिति रहेको थियो।







