पाँचथर । नेकपा (एमाले)को आसन्न ११ औं राष्ट्रिय महाधिवेशनका लागि पाँचथर जिल्लाबाट ३२ जनाले प्रतिनिधि बन्न उम्मेदवारी दर्ता गरेका छन्। आइतबार एमाले पाँचथरले गठन गरेको निर्वाचन समितिमा उम्मेदवारी दर्ता भएको हो।
निर्वाचन अधिकृत जयप्रसाद केरुङका अनुसार पाँचथरबाट खुला चार, महिला दुई, दलित एक र युवा एक गरी कुल आठ जना महाधिवेशन प्रतिनिधि चयन हुने तय गरिएको छ।
उम्मेदवारी पक्षमा खुला चार सिटका लागि १६ जना, महिला दुई सिटका लागि सात जना, एक युवा सिटका लागि ६ जना र एक दलित सिटका लागि ६ जनाले दर्ता गराएका छन्।

पाँचथर जिल्लामा प्रदेश (क) बाट एक हजार ९७४ र प्रदेश (ख) बाट एक हजार २९६ गरी कुल ३,२७१ पार्टी सदस्य रहेका छन्। सबै पार्टी सदस्यले महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान गर्न पाउने व्यवस्था छ। जिल्लाबाट केन्द्रीय सदस्यमा प्रतिनिधित्व गर्ने नेता भने स्वचालित रूपमा महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ।
एमालेले मङ्सिर १० गतेसम्म उम्मेदवारबीच सहमतिका लागि प्रयास गर्ने जनाएको छ। सहमति हुन नसकेमा निर्वाचनमार्फत प्रतिनिधि चयन गरिनेछ।
महाधिवेशन प्रतिनिधिका लागि मतदान देशभर मङ्सिर १३ गते एकैदिन हुने तालिका रहेको निर्वाचन समितिले जनाएको छ। एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ।







