ताप्लेजुङ । ताप्लेजुङका एक अभिभावकले आफ्नो छोराको विशेष दिनको अवसरमा २० जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेका छन्। सिदिङवा गाउँपालिका–५ का निवासी डेनी तामाङले छोरो सोनाम तामाङको विशेष दिन मनाउँदै स्थानीय विद्यालयका बालबालिकालाई न्यानो स्विटर वितरण गरेका हुन्।
सिदिङवा गाउँपालिका–५ स्थित भञ्ज्याङ माध्यमिक विद्यालयमा अध्ययनरत ECD कक्षाका २० जना छात्रछात्रालाई जाडो यामका कपडा वितरण गरिएको विद्यालयले जनाएको छ। तामाङले विद्यालयमै उपस्थित भई विद्यार्थीहरूलाई कपडा वितरण गरेका थिए।
त्यससँगै उनले ITF Taekwondo अभ्यासरत खेलाडीहरूलाई जर्सी समेत प्रदान गरेका छन्। तामाङका अनुसार विद्यार्थीका लागि प्रदान गरिएको स्विटरको मूल्य करिब ४५ हजार रुपैयाँ बराबर रहेको छ।

कार्यक्रममा भञ्ज्याङ माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र इदिङ्गोले तामाङले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यस्तो पहलले अभावग्रस्त विद्यार्थीहरूलाई अध्ययनप्रति थप प्रेरणा दिने बताए।
उनका अनुसार ग्रामीण भेगका धेरै विद्यार्थी आवश्यक शैक्षिक सामग्री जुटाउन र नियमित रूपले विद्यालय पुग्न चुनौती झेल्दै आएका हुन्छन्। यस्तो अवस्थामा प्रदान गरिएको सहयोगले उनीहरूको बोझ केही हदसम्म कम हुने विद्यालयले विश्वास व्यक्त गरेको छ।







