ओमेन्सा राई
ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिकामा रहेका अत्यन्तै मनमोहक तथा पर्यटकीय सम्भावनाले भरिपूर्ण काली पोखरी र जलजले पोखरी उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन्। सिदिङवा गाउँपालिका–७ सुरुमखिमस्थित यी दुवै पोखरी हरियाली वनको बीच एकान्त र स्वच्छ वातावरणमा अवस्थित भए पनि आवश्यक ध्यान नपाउँदा सम्भावित पर्यटकीय गन्तव्यका रूपमा विकास हुन सकेका छैन्न्। 

स्थानीयका अनुसार पूर्वाधार विकास, संरक्षण तथा व्यवस्थित प्रचारप्रसार नहुँदा पोखरीहरूले अहिले पनि अपेक्षित पहिचान पाउन सकेका छैनन्। मानव बस्तीभन्दा टाढा शान्त वातावरणमा अवस्थित भएकाले पोखरीलाई पर्यटकीय आकर्षणका रूपमा प्रवर्द्धन गर्न सकिने भए पनि सम्बन्धित निकायले चासो नदेखाएको उनीहरूको गुनासो छ।
सुरुमखिमका स्थानीय चन्द्र राई भन्छन्, “काली पोखरी र जलजले पोखरी दुवै प्राकृतिक रूपमा अत्यन्तै सुन्दर छन्। प्रचारप्रसार र पहुँच सुधार गर्न सकियो भने यहाँ धेरै पर्यटक आकर्षित हुने निश्चित छ।” उनका अनुसार सिदिङवा–५ मा अवस्थित पर्यटकीय स्थल ढङढङ्गे झरनासँगै यी पोखरीलाई समेत समेटेर पर्यटकीय सर्किटका रूपमा विकास गर्न सकिन्छ। 
स्थानीयवासीका अनुसार पोखरीसम्म पुग्ने पदमार्गको स्तरोन्नति, सडक पहुँच, र आवश्यक संरचना निर्माण प्राथमिकतामा पर्न सकेमा पर्यटकीय विकासको मार्ग प्रशस्त हुनेछ। तर यस्ता आधारभूत पूर्वाधार नहुँदा काली पोखरी र जलजले पोखरी प्रशस्त सम्भावना हुँदाहुँदै पनि ओझेल परिरहेका छन्।
सम्बन्धित निकायले संरक्षण, प्रवर्द्धन र पूर्वाधार विकासमा ध्यान दिए मात्र यी दुवै पोखरीलाई आकर्षक र महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने स्थानीयको भनाइ छ।







