पाँचथर ।
संविधान दिवसको अवसरमा जेन्जी पाँचथरले शुक्रबार विशेष सरसफाई तथा वृक्षारोपण अभियान सञ्चालन गरेको छ।
“डस्टबिनलाई न्याय दिने” नारासहित सुरु गरिएको अभियानअन्तर्गत पहिलो चरणमा फिदिम बजारस्थित शिवालय मन्दिरदेखि पदमार्ग हुँदै माथिल्लो गाउँसम्म सरसफाई गरिएको हो। प्रारम्भिक योजनाअनुसार रमिते डाँडा वरपर सफा गर्ने लक्ष्य राखिए पनि अपेक्षाभन्दा बढी फोहोर भेटिएकाले अभियानलाई माथिल्लो गाउँको सिरानसम्म विस्तार गरिएको सहभागी युवा सुगम ढुङ्गानाले जानकारी दिए।

कार्यक्रमका क्रममा पदमार्ग र वरिपरिको क्षेत्रमा थुप्रिएका सिसाका बोतल, प्लास्टिकजन्य पदार्थ, डायपरसहित विभिन्न फोहोर संकलन गरी डम्पिङ क्षेत्रमा व्यवस्थापन गरिएको जनाइएको छ। साथै ३५ वटा विरुवा रोपणसमेत गरिएको छ।
बजार नजिकैको क्षेत्रमा समेत प्रभावकारी फोहोर व्यवस्थापन हुन नसक्नु सम्बन्धित निकायको कमजोरी भएको भन्दै आयोजकहरूले सरोकारवालाको ध्यानाकर्षण गराएका छन्। वातावरण संरक्षणजस्तो संवेदनशील विषयमा गम्भीरता देखाउन आग्रह गर्दै उनीहरूले निरन्तर जनचेतनामूलक गतिविधि अघि बढाइने बताएका छन्।
यस अभियानका लागि मेचि इङ्लिश स्कूलले ५ वटा बाँसका डोका (डस्टबिन) सहयोग गरेको छ। यस्तै, अन्य व्यक्तिहरूले नैतिक तथा भौतिक सहयोग गरेको भन्दै आयोजकले आभार व्यक्त गरेका छन्।
स्वास्थ्य, सरसफाई र भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित सुरु गरिएको यो अभियानलाई निरन्तरता दिने योजना रहेको जेन्जी पाँचथरका अर्का युवा प्रज्वल बास्कोटाले जानकारी दिए।





