पाँचथर। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) पाँचथरले फिदिम नगरपालिका–११ तिर्तिया देखि वडा नं. १० थाङ्नपा सम्मको करिब दुई किलोमिटर सडक क्षेत्रमा सरसफाइ तथा ढिस्को हटाउने श्रमदान गरेको छ।
शुक्रबार वाइसीएल पाँचथर र फिदिम नगर कमिटीको सहकार्यमा आयोजित अभियानमा ७० जनाभन्दा बढी युवा सहभागी भएका थिए। संविधान दिवसको अवसर पारेर गरिएको श्रमदानमार्फत सडक वरिपरि सरसफाइ र सडकमा झरेको ढिस्को हटाइएको वाइसीएल पाँचथर अध्यक्ष गणेश तुम्रोकले जानकारी दिए।
यसअघि पनि वाइसीएलले पाँचथरमा विभिन्न महत्त्वपूर्ण श्रमदान गतिविधि सञ्चालन गर्दै आएको बताइएको छ। श्रमदान कार्यक्रममा फिदिम नगरपालिका–१० का वडा अध्यक्ष होमराज थाम्सुहाङले खाजा–नास्तासहित कोदाली, कुत्ते, झ्याम्पलजस्ता आवश्यक औजार उपलब्ध गराएका थिए। थाम्सुहाङले वाइसीएलले गरेको काम प्रशंसनीय भएको उल्लेख गर्दै यस्ता अभियानमा अन्य राजनीतिक दलका युवा संगठनहरूले पनि सहभागी भई समाज र पूर्वाधार विकासमा योगदान दिनुपर्ने बताए।

श्रमदान अभियानले पार्टीलाई सुदृढ बनाउनेतर्फ टेवा पुगेको माओवादी केन्द्र १ नम्बर प्रदेश (कोशी) अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ ले बताए। उनले वाइसीएलको सक्रियताले पार्टीप्रतिको विश्वास र लोकप्रियता बढाएको उल्लेख गर्दै यस्तो अभियानले गाउँ–गाउँमा आपसी सम्बन्ध विस्तार गर्न मद्दत गरेको धारणा राखे।
जिल्लाभर वाइसीएलको अभियानलाई सर्वदलीय युवाहरूले पनि साथ दिन थालेको उल्लेख गर्दै अध्यक्ष नेम्वाङले सकारात्मक कामका लागि राजनीतिक भिन्नता भन्दा माथि उठेर साझा प्रयत्न आवश्यक रहेको बताए। उनले विशेषगरी दशैंको बेला बाढी–पहिरोले अवरुद्ध भएका सडक खोल्दै वाइसीएलले जनताको दैनिक जीवन सहज बनाउन योगदान दिएकोसमेत बताए।
वाइसीएल पाँचथर इन्चार्ज सागर नेम्वाङका अनुसार यो अभियान जिल्लाका सबै आठ स्थानीय तहमा सञ्चालन भइरहेको छ र आगामी दिनमा पनि निरन्तरता दिइनेछ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश अध्यक्ष नेम्वाङ, विशेष अतिथि वडा अध्यक्ष थाम्सुहाङसहित पार्टीका विभिन्न स्तरका नेताहरू उपस्थित थिए। सहभागीमध्ये प्रदेश सचिवालय सदस्य तथा जिल्ला सह–इन्चार्ज दिनेश लावती, प्रदेश सदस्य तथा फिदिम नगरपालिकाका जनप्रतिनिधि राधाकृष्ण न्यौपाने, प्रदेश सदस्य परिचित नेम्वाङ, वाइसीएल केन्द्रीय सचिव विक्रम संकर र अशोक राई, केन्द्रीय सदस्य तथा पाँचथर इन्चार्ज सागर नेम्वाङलगायतका नेताहरू उल्लेख्य रुपमा उपस्थित थिए।







