राज कुमार इशारा, पाँचथर । पाँचथरका नौ विद्यालयका ४९ जना विद्यार्थीलाई रेडपाण्डा संरक्षण प्रोत्साहन छात्रवृत्ति वितरण गरिएको छ।
रेडपाण्डा नेटवर्क र श्री दीपज्योति युवा क्लब पाँचथरको आर्थिक सहयोगमा सञ्चालित “समुदायमा आधारित रेडपाण्डा संरक्षण अनुगमन कार्यक्रम” अन्तर्गत जनचेतना अभिवृद्धि र जैविक विविधता संरक्षणका उद्देश्यले छात्रवृत्ति वितरण गरिएको हो। क्लबका कार्यकारी निर्देशक सुनिल बान्तावाले विद्यार्थीलाई संरक्षणप्रति प्रेरित गर्ने उद्देश्यले निरन्तर यस कार्यक्रमलाई अघि बढाइरहेको बताए।
रुट्स एण्ड सुट्स कार्यक्रम
यस छात्रवृत्ति कार्यक्रम रुट्स एण्ड सुट्स इको क्लबमा आवद्ध विद्यार्थीलाई लक्षित गरिएको थियो। प्रख्यात जीवविज्ञानी तथा वातावरणविद् डा. जेन गुडअलले सुरु गरेको रुट्स एण्ड सुट्स कार्यक्रम सन् १९९१ मा तान्जानियाबाट प्रारम्भ भएको हो। हाल विश्वका करिब १२० देशका डेढ लाखभन्दा बढी युवा यसमा संलग्न छन्। यस समूहले समुदाय, जीवजन्तु र वातावरणमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राख्छ।

छात्रवृत्ति वितरण विवरण
पाँचथरका सात माध्यमिक र दुई आधारभूत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो। वार्षिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा ६ देखि १० सम्मका ४९ विद्यार्थीलाई झोला, थर्मस, ज्यामितिबक्स, वैज्ञानिक क्याल्कुलेटर, कापी तथा क्लबको लोगो अंकित डटपेनसहित करिब पाँच हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गरिएको क्लबकी कार्यक्रम संयोजक प्रशंसा थापाले जानकारी दिइन्।
संरक्षण र अतिरिक्त गतिविधि
रेडपाण्डा संरक्षण कार्यक्रमअन्तर्गत पाँचथरका ११ विद्यालयमा रुट्स एण्ड सुट्स इको क्लब गठन गरिएको छ। यी क्लबमार्फत अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस, इको ट्रिप, बुलेटिन भित्तेपत्रिका प्रकाशन, कक्षा ६ देखि ८ सम्म वातावरण शिक्षा पठनपाठन, वृक्षरोपणलगायतका गतिविधि सञ्चालन भइरहेका छन्। क्लबका लेखा अधिकृत सन्त राईका अनुसार यस्ता कार्यक्रमले विद्यालय र विद्यार्थी दुवैलाई संरक्षण अभियानतर्फ सक्रिय बनाउन योगदान पुर्याइरहेका छन्।
छात्रवृत्तिले विद्यार्थीलाई सम्मानित गर्दै क्षमता अभिवृद्धि गर्न मद्दत गरेको छिरुवा आधारभूत विद्यालयका प्रअ प्रदीप राईले बताए। उनका अनुसार यस्ता अवसरले विद्यार्थीलाई अतिरिक्त गतिविधिमा सक्रिय बनाउँदै विद्यालयलाई समेत टेवा पुगेको छ।
रेडपाण्डा दिवस
रेडपाण्डा नेटवर्कले सन् २०१० देखि अन्तर्राष्ट्रिय हाब्रे दिवस मनाउन थालेको हो। नेपालमा भने २०११ देखि यस दिवस मनाउन थालिएको हो। प्रत्येक वर्ष सेप्टेम्बर महिनाको तेस्रो सातामा मनाइने यस दिवसका अवसरमा पाँचथरका विद्यालयमा हाजिरीजवाफ, वक्तृत्वकला, कविता वाचन, नाटक प्रदर्शन, चित्रकला र वृक्षरोपणजस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन्। क्लबका अध्यक्ष सुरेन्द्र राईका अनुसार २०७२ सालदेखि यी कार्यक्रम नियमित रूपमा सञ्चालन हुँदै आएका छन्।





