तेह्रथुम । आठराई गाउँपालिका–७ स्थित नाम्जाङ आधारभूत विद्यालयकी प्रधानाध्यापक तारादेवी खतिवडामाथि आफ्नै शिक्षकलाई जातीय आधारमा भेदभाव गरेको आरोप लागेको छ।
भदौ ११ गते बुधबार विद्यालयमा भएको श्रमदान कार्यक्रममा खानपानको क्रममा प्रधानाध्यापक खतिवडाले सोही विद्यालयकी शिक्षक एलिसा विश्वकर्मालाई दलित भएको कारण देखाउँदै भान्सा वरिपरि जान तथा खानेकुरा छुन नदिएको आरोप लगाइएको छ।
घटनासम्बन्धी तीन मिनेटभन्दा लामो अडियो सामग्री समेत सार्वजनिक भएको छ। उक्त अडियोमा प्रधानाध्यापक खतिवडाले शिक्षक विश्वकर्मासँग, “अनि यहाँ खादैनन् नि त मिस, बुडाबुढीले। तपाईंले जिद्धी गरेर मात्र हुँदैन त मिस…” भन्ने भनाइ सुनिन्छ।

विद्यालय जस्तो सार्वजनिक शिक्षणस्थलमै जातीय विभेद हुनु निन्दनीय रहेको भन्दै जात व्यवस्था उन्मूलन मोर्चा नेपालले एक विज्ञप्ति जारी गरी घटनाको भर्त्सना गरेको छ। विज्ञप्तिमा राज्यको वर्तमान कानुनले जातीय विभेदलाई गम्भीर सामाजिक अपराधका रूपमा परिभाषित गरिसकेको अवस्थामासमेत सार्वजनिक पदमा रहेकी व्यक्तिबाट यस्तो घटना हुनु दुःखद भएको उल्लेख छ। दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरिएको विज्ञप्तिमा स्पष्ट गरिएको छ।
विज्ञप्तीः






