Nepalitheme

पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा नेपालकै सबैभन्दा लामो मोडुलर पुल निर्माण सम्पन्न भएको छ। ७० मिटर लम्बाइको यस पुललाई हालसम्मको सबैभन्दा लामो मोडुलर पुल मानिएको छ।

यस पुलले फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई जोड्नेछ। साथै, ताप्लेजुङ जिल्ला र पाँचथरको याङ्वरक, हिलिहाङ र फालेलुङ गाउँपालिकाका बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

ऊनको स्वीटर टेजर

सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार पुल निर्माण साउन १७ गते सुरु भई २८ गते सम्पन्न भएको हो। अब आगामी भदौ ४ गते संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र भारतीय राजदूतावासका प्रतिनिधिबाट उद्घाटन गर्ने तयारी भइरहेको छ।

यो पुल निर्माणमा छिमेकी राष्ट्र भारतले निःशुल्क प्राविधिक सहयोग गरेको हो। पुल जडानका लागि भारतका १८ जना प्राविधिक परिचालन गरिएको थियो। पुलको क्षमता २५ टन रहेको छ र यसलाई परीक्षण समेत गरिसकिएको भट्टराईले जानकारी दिनुभयो।

यसअघि गत जेठ ३१ गते यस्तै प्रकारको बेलिब्रिज जडान कार्यको अन्तिम चरणमा भाँचिँदा ६ जना घाइते मध्य ३ जनाको मृत्यु भएको थियो। त्यसपछि नयाँ मोडुलर पुल जडान गरिएको हो, जसमा अघिल्लोभन्दा फरक ‘लञ्जिङ किट मेम्बर’ प्रयोग गरिएको छ।

सडक डिभिजन कार्यालय इलामको मातहतमा निर्माण भएको यस पुलका लागि ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। निर्माण कार्य सौगात लाइट बिल्डर्स कम्पनीले सम्पन्न गरेको इन्जिनियर लक्षण बरालले बताए।

यसअघि २०८० असार २ गते आएको बाढीले पक्की पुल बगाएको थियो। त्यसपछि संघीय सरकारले २९ दिनमै बेलिब्रिज जडान गरेको थियो। तर, सो पुल पनि २०८१ असोज १२ गतेको बाढीले बगाएको थियो। त्यसको सट्टामा जडान गरिएको दोस्रो बेलिब्रिज गत जेठ ३१ गते दुर्घटनामा पर्‍यो।

हाल अस्थायी रूपमा ड्राइभसन हुमपाइपमार्फत यातायात सञ्चालन हुँदै आएको छ। बारम्बार बाढीले क्षति पुर्‍याउने भएकाले यातायातमा कठिनाइ हुँदै आएकोमा अब नयाँ मोडुलर पुल सञ्चालनमा आएपछि ताप्लेजुङ र पाँचथरका विभिन्न गाउँपालिका मात्र नभई इलाम र झापा हुँदै तराईसँगै सम्पूर्ण सडक सञ्जाल सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय