पाँचथर। मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा निर्माणाधीन नेपालकै सबैभन्दा लामो मोडुलर पुल अन्तिम चरणमा पुगेको छ। आइतबार खोलाको दुवैतर्फ ७०–७० मिटर लामो पुल जोड्ने काम सम्पन्न गरिएको छ।
सडक विभाग इलाम कार्यालयका प्रमुख पवन भट्टराईका अनुसार अब एक हप्ताभित्र पुलबाट सवारीसाधन सञ्चालन हुने अपेक्षा गरिएको छ। “करिब ८० प्रतिशत काम पूरा भइसकेको छ, अबको सात दिनभित्र सबै काम सम्पन्न हुन्छ भन्ने विश्वास छ,” उनले बताए।
फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई जोड्ने यो पुल भारत सरकारको सहयोगमा निर्माण भइरहेको हो। पुल निर्माणमा २१ जना भारतीय प्राविधिक तथा मजदुर खटिएका छन्।

यसअघि जेठ ३१ गते जडानको अन्तिम चरणमा पुगेको पुल भाचिँदा तीन जना मजदुरको मृत्यु भएको थियो। पुल निर्माणका लागि तीन करोड ५० लाख रुपैयाँमा दोभान सुपर सौगात लाइट बिल्डर्स कम्पनीले ठेक्का पाएको हो।
२०८० असार २ गते आएको बाढीले यहाँको पक्की पुल बगाएपछि मेची राजमार्गमा यातायात अवरुद्ध भएको थियो। त्यसपछि अस्थायी रूपमा बेली ब्रिज निर्माण गरिएको थियो। तर २०८१ असोज १२ गतेको बाढीले बेली ब्रिज समेत बगाएपछि पुनः यातायात प्रभावित भएको हो।
निर्माणाधीन मोडुलर पुल सञ्चालनमा आएपछि पाँचथरका तीन पालिका र ताप्लेजुङसम्मको यातायात सहज हुने अपेक्षा गरिएको छ। हाल डाइभर्सनमार्फत सवारीसाधन आवागमन भइरहेको छ।






