ताप्लेजुङ । आगामी साउन २४ गतेदेखि ३१ गतेसम्म फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो पुरस्कार पाथीभरा देवी दर्शन केबलकार प्रालिले प्रदान गर्ने भएको छ।
लाखे जात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार दोस्रो पुरस्कारबापत केबलकार प्रालिले ३ लाख ५० हजार ८२ रुपैयाँ उपलब्ध गराउने गरी सम्झौता भइसकेको छ। उनका अनुसार जिल्लामा आयोजना हुने सबैभन्दा ठूलो फुटबल प्रतियोगिता गोल्डकपलाई भव्य रूपमा सम्पन्न गर्न तथा यसको साख कायम राख्न केबलकार प्रालिले यो प्रायोजन गरेको हो।
यसअघि नै प्रतियोगिताको पहिलो पुरस्कार अप्पर तमोर हाइड्रोपावर कम्पनीले प्रदान गर्ने निर्णय भइसकेको छ। समितिका अध्यक्ष सागर मादेनका अनुसार हाइड्रोपावरले प्रथम पुरस्कार बापत ७ लाख २ हजार ८२ रुपैयाँ दिने सम्झौता भएको हो। युवा तथा समाजसेवी मणिशंकर पोमुको पहलमा हाइड्रोपावरले यो सहयोग गर्ने सहमति जनाएको मादेनले जानकारी दिए।

गोल्डकप सम्पन्न गर्न विभिन्न संघसंस्था तथा व्यक्तिहरूमार्फत सहयोग प्राप्त हुने क्रम पनि जारी रहेको आयोजकले जनाएको छ। यस वर्ष प्रतियोगितामा सम्भव भएसम्म धेरै रकम संकलन गर्ने र खर्च भने न्यूनतम राख्ने रणनीतिमा समिति लागेको छ।





