पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा मोडुलर पुल निर्माण कार्य शनिबारदेखि पुनः सुरु भएको छ। गत जेठ ३१ गते नेपालकै सबैभन्दा लामो बेलिब्रिज जडानकै क्रममा भाँचिएपछि निर्माण कार्य रोकिएको थियो।
महा बर्खा सकिन लाग्दा पुनः काम सुरु भए पनि स्थानीयवासीमा खुशी भने देखिएको छैन। यसै स्थानमा बेलिब्रिज भाँचिँदा तीन जनाको ज्यान गएको थियो। त्यसपछि यहाँ तेस्रो पटक अस्थायी पुल जडान गर्न लागिएको हो।
यसअघि २०८० असार २ गते बाढीले पक्की पुल बगाएको थियो। त्यसपछि संघीय सरकारले २९ दिनमा बेलिब्रिज जडान गरेको थियो। तर सो पुल २०८१ असोज १२ गते बाढीले बगाएपछि दोस्रो पटक जडान भइरहेको बेलिब्रिज पनि गत जेठ ३१ गते दुर्घटनामा पर्यो।

यसपटक भारत सरकारको प्रविधिक सहयोगमा सडक डिभिजन कार्यालय इलाममार्फत मोडुलर पुल निर्माण कार्य अघि बढाइएको हो। निर्माण कार्य दोभान सुपर सौगात लाइट बिल्डर्स कम्पनीलाई ३ करोड ५० लाख रुपैयाँमा ठेक्का दिइएको छ।
सडक डिभिजन इलामका इन्जिनियर आकाश श्रेष्ठका अनुसार नयाँ मोडुलर पुलमा पहिलेभन्दा लञ्जिङ किट सदस्य फरक रहेको छ। उनले भने, “२३० फिट पुल निर्माण गर्नुपर्ने हो, हालसम्म १३० फिटको काम सम्पन्न भइसकेको छ। प्रविधिक समस्या आएन भने एक महिनाभित्र पुल सञ्चालनमा आउनेछ।”
हेवा खोलाले पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई छुट्याउँछ। यही मेची राजमार्गले पाँचथर र ताप्लेजुङलाई इलाम हुँदै झापासँग जोड्ने काम गर्छ। अहिले हिउँदमा हुम पाइप राखेर सवारीसाधन सञ्चालन हुने गरेको छ भने बाढी आउँदा यातायात पूर्ण रूपमा अवरुद्ध हुने गर्छ।





