विराटनगर । कोशी प्रदेशमा २०७९ फागुनदेखि ०८० साउनसम्म लम्पी स्किन रोगले ९ हजार ४२१ वटा गाई, गोरी तथा राँगा भैंसी (पशुचौपाया) मरे ।

Nepalitheme
त्यसवेला सबैभन्दा बढी प्रभावित जिल्ला इलाम थियो । इलाममा त्यसवेला २ हजार १६० वटा पशु चोपायाको मृत्यु भयो । यस्तै दोस्रो नम्बरमा रहेको झापामा २ हजार ८४ पशुचौपाया मरेका थिए । त्यतिखेर प्रदेशका २ लाख ८१ हजार ५४९ पशुचौपाया प्रभावित बनेका थिए ।

त्यो प्रकोप फेरि आउन नदिन आर्थिक वर्ष २०८०/८१ मा तीनै तहका सरकारहरूले लम्पी स्किनविरुद्ध खोप अभियान चलाए । खोप अभियान चलाएकै कारण गत वर्ष समस्या देखिएन ।

तर, यो वर्ष फेरि प्रकोप देखिएको छ । कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार गत आइतबारसम्म प्रदेशभर लम्पी स्किनका कारण ६३७ वटा पशुचौपाया मरिसकेका छन् भने २२ हजार १२२ प्रभावित छन् ।

ऊनको स्वीटर टेजर

यस पटक सबैभन्दा बढी प्रभावित जिल्ला झापा छ । झापामा हालसम्म ४१० वटा पशुचौपाया मरिसकेका छन् भने १४ हजार ६९२ वटा बिरामी ।

यसपछि मोरङ, इलाम, सुनसरी जिल्ला बढी प्रभावित छन् । फाट्ट फुट्ट ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ र उदयपुरमा देखिएको छ । तीन जिल्ला; संखुवासभा, ओखलढुंगा र सोलुखुम्बु भने लम्पी स्किनबाट हालसम्म मुक्त छ ।

तीन वर्ष अगाडि प्रकोपको रूपमा आएको यो रोगविरुद्ध नियमित खोप कार्यक्रम सञ्चालन गर्न नसक्दा पशुपालक किसानले पुनः क्षति बेहोर्नुपरेको हो । र यसमा संघ, प्रदेश र स्थानीय सरकारहरू नै चुकेको देखिएको छ ।

‘दुई वर्षअघि खोप लगाएका पशुहरूमा यो रोग देखिएको छैन । खोप लगाउन छुटेका पशुहरूमा संक्रम देखिएको छ,’ भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले भनिन् ।

उनले लम्पी स्किन रोगलाई राष्ट्रिय खोपमा समावेश नगरिँदा यो समस्या पुनः बल्झिएको तर्क गरिन् । ‘खोरेंत वा पीपीआरजस्तो बर्सेनि नियमित रूपमा खोप लगाउने कार्यक्रम र खोप लगाउने प्राविधिकलाई दिइने पारिश्रमिकको व्यवस्था छैन,’ उनले भनिन्, ‘रोग देखापरेपछि मात्र खोपको माग ह्वात्तै बढ्ने तर रोकथामका लागि पहिल्यै लगाउने प्रवृत्ति कम छ । यो नै समस्या दोहोरिनुको मुख्य कारण हो ।’

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. गंगाराम यादव पनि समयमै खोप कार्यक्रम सञ्चालन नहुनु र रोगलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश नगरिनु नै प्रकोप फैलिनुको मुख्य कारण भएको बताउँछन् ।

Gangaram Yadav

‘लम्पी स्किन अझै पनि राष्ट्रिय पशुपन्छी खोप कार्यक्रममा नपर्दा यसको नियमित र तालिकाबद्ध खोप हुन सकेको छैन,’ डा. यादवले भने, ‘गत वर्ष पालिकाहरूले आफ्नै स्रोतबाट खोप लगाउँदा रोग नियन्त्रणमा थियो, तर यो वर्ष त्यसो नहुँदा र नीतिगत कमजोरीले गर्दा प्रकोप फैलिएको हो ।’

प्रदेशमा रोग नियन्त्रणका लागि खोप अभाव रहेको पनि उनले बताए । प्रदेशमा भएका पशु संख्याका आधारमा कम्तीमा ८ देखि १० लाख डोज खोप आवश्यक पर्नेमा पशुसेवा विभागबाट जम्मा ४ लाख डोज मात्र प्राप्त भएको उनले जानकारी दिए । ‘लम्पी स्किन अब नेपालमा स्थापित भइसकेको छ । त्यसैले यसलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश नगरी दीर्घकालीन समाधान सम्भव छैन,’ यादवले थपे ।

तर सरकारीस्तरमा खोप अभाव भए पनि किसान आफैले किनेर गरेर लगाउन सक्ने अवस्था भने रहेको डा. यादव बताउँछन् । सरकारले प्रतिडोज २४ रुपैयाँमा खरिद गर्ने यो खोप बजारमा किसानले ५० देखि ६५ रुपैयाँसम्म तिर्नुपर्छ ।

यो भाइरल रोग भएकाले यसको निश्चित उपचार छैन । रोग लागिसकेका पशुलाई खोप लगाउँदा प्रभावकारी नहुने बरु उल्टै असर गर्ने विज्ञहरू बताउँछन् । यसका मुख्य लक्षणहरूः उच्च ज्वरो आउनु, शरीरमा कडा गिर्खाहरू देखिनु, दूध घट्नु र गर्भ तुहिनु आदि हुन् ।

तर प्राविधिक शुल्कसहित किसानले भने प्रतिपशु ३०० देखि ५०० रुपैयाँसम्म खर्च गरिरहेका छन् । ‘यदि सरकारी खोपको प्रतीक्षा गर्न नसक्ने अवस्था भए किसानले बजारबाट खोप खरिद गरी प्राविधिक बोलाएर लगाउन सक्नुहुन्छ । यसो गर्दा प्राविधिक शुल्कसहित प्रतिपशु ३०० देखि ५०० रुपैयाँसम्म खर्च लाग्न सक्छ,’ यादवले प्रस्ट्याए ।

यद्यपि प्रदेशस्तरमा यो कार्यक्रम लागु गर्न नसकिने भने छैन । केही समयअघि प्रदेशसभामा सपना दर्जीलगायतले लम्पी स्किन रोगको विषयमा सरकार गम्भीर हुनुपर्ने र नियन्त्रणका लागि खोप अभियान चलाउनुपर्ने माग गरेकी थिइन् । यस्तोमा प्रदेशले नै खोप अभियान चलाउने हो भने कम्तीमा २ करोड रुपैयाँ बजेट थप आवश्यक पर्ने डा. यादव बताउँछन् ।

यो भाइरल रोग भएकाले यसको निश्चित उपचार छैन । रोग लागिसकेका पशुलाई खोप लगाउँदा प्रभावकारी नहुने बरु उल्टै असर गर्ने विज्ञहरू बताउँछन् । यसका मुख्य लक्षणहरूः उच्च ज्वरो आउनु, शरीरमा कडा गिर्खाहरू देखिनु, दूध घट्नु र गर्भ तुहिनु आदि हुन् ।

डा. यादवले किसानहरूलाई आफ्नो गोठ सफा राख्न, नयाँ पशु ल्याउँदा क्वारेन्टाइनमा राख्न, झिंगा र लामखुट्टेबाट बचाउन र रोगको सिजन सुरु हुनुअघि नै (फागुन–चैतमा) खोप लगाउन सुझाव दिएका छन् ।

दीर्घकालीन समाधानका लागि भने यो रोगलाई तत्काल राष्ट्रिय खोप कार्यक्रममा समावेश गरी देशव्यापी अभियान चलाउनुको विकल्प नभएको उनको भनाइ छ । ratopati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय