पाँचथर। भूमिहीन तथा सुकुम्बासीलाई जग्गा वितरण गर्न पाँचथर जिल्लाका दुई पालिकामा अमिनसहितको टोलीले नापजाँच कार्य सुरु गरेको छ। पहिलो चरणमा हिलिहाङ र मिक्लाजुङ गाउँपालिकामा नापजाँच कार्य प्रारम्भ गरिएको हो।
भूमिसम्बन्धी समस्या समाधानका लागि अहिलेसम्म ३१ वर्षको अवधिमा २१ पटक भूमि आयोग गठन भए पनि भूमिहीनहरूलाई धनीपुर्जा वितरण गर्न नसकेको भन्दै यसपटक आयोगले समयमै नापजाँच गरी पुर्जा वितरण गर्ने तयारी गरेको हो। भूमि समस्या समाधान आयोग पाँचथरका अध्यक्ष धनकुमार फियाकका अनुसार, यसपटक स्थलगत रूपमा अमिन टोली खटाएर नापजाँच तीव्र बनाइएको छ।
नापजाँच तथा कीक्ताकाट कार्यका लागि ६ जना अमिन र एकजना सर्वेक्षक खटिएका छन्। हिलिहाङ गाउँपालिकाका सात वडामा चारजना भूमिहीनका लागि २१ रोपनी ८ आना जग्गाको नापजाँच सम्पन्न भइसकेको छ। त्यस्तै, मिक्लाजुङ गाउँपालिकाका वडा नम्बर ६, ७ र ८ मा ६ जना भूमिहीन र ६५ जना अव्यवस्थित बसोबासकर्ताका लागि जम्मा २८३ रोपनी ११ आना जग्गाको नापजाँच गरिएको टोली प्रमुख तथा सर्वेक्षक अनिश पुनले जानकारी दिए।

भूमि आयोग पाँचथरले अहिलेसम्म १११ जना भूमिहीन दलित, १४४ जना भूमिहीन सुकुम्बासी र ६ हजार ६४० जना अव्यवस्थित बसोबासकर्ताको विवरण संकलन गरेको छ। संकलित विवरणमध्ये हालसम्म १०१ जना भूमिहीन दलित, १०६ जना भूमिहीन सुकुम्बासी र ४ हजार ९०१ जना अव्यवस्थित बसोबासकर्ताको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भइसकेको भूमि कार्यालय पाँचथरका नापी प्रमुख उमेश नेम्बाङले जानकारी दिए।





