ताप्लेजुङ। तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। खेलकुदको माध्यमबाट पाथीभरा मन्दिरको प्रचार–प्रसारमा टेवा पुर्याउने उद्देश्यले पाथीभरा धाममा बिहीबार आयोजित कार्यक्रममार्फत तालिका सार्वजनिक गरिएको हो।
लाखे जात्रा सञ्चालन समितिको आयोजनामा प्रतियोगिता आगामी साउन २४ गतेदेखि फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा सुरु हुनेछ। उद्घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लब र द यङ ब्रदर्स फुटबल क्लब, ईटहरी–सुनसरीबीच प्रतिस्पर्धा हुनेछ।
साउन २५ गते हुने दोस्रो खेलमा सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापा आमनेसामने हुनेछन्। यस्तै साउन २६ गते तेस्रो खेलमा भारतको लिजेन्ड फुटबल एकेडेमी, सिलिगुडी र चर्च ब्वाइज ललितपुरबीच भिडन्त हुनेछ। प्रतियोगिताको क्वाटरफाइनल चरणको अन्तिम खेल साउन २७ गते हुनेछ, जसमा सलहेस युवा क्लब सिराहा र फिदिम स्पोर्टिङ क्लब पाँचथर प्रतिस्पर्धा गर्नेछन्।

तालिका अनुसार सेमिफाइनल खेलहरू साउन २८ र २९ गते सञ्चालन हुनेछन्। फाइनल खेल भने साउन ३१ गते हुनेछ।
प्रतियोगिताको विजेता टोलीले नगद ७ लाख २ हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई यामाहा मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ। अन्य विभिन्न विधामा पनि नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको समितिले जनाएको छ।





