पाँचथर। आर्थिक वर्ष २०८१/८२ का लागि कोशी प्रदेश प्रहरी अन्तर्गत सम्पन्न वार्षिक कार्य सम्पादन समीक्षामा पाँचथर जिल्ला प्रहरी कार्यालय उत्कृष्ट ठहरिएको छ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भयो। कार्यक्रममा प्रदेशअन्तर्गतका सबै प्रहरी कार्यालयका प्रमुखहरूले आफ्नो कार्यालयले श्रावणदेखि असार मसान्तसम्म गरेका कार्यको विवरण प्रस्तुत गरेका थिए।
सम्झौता अनुसारको कार्य सम्पादन मूल्याङ्कन गर्दा पाँचथर प्रहरीले सबै लक्ष्य शतप्रतिशत पुरा गरेको पाइएपछि “सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय” घोषणा गरिएको हो। कार्यक्रममा डिआईजी कार्कीले पाँचथरका प्रहरी प्रमुख कौशल कुमार बुढाथोकीलाई प्रशंसा-पत्रसहित बधाई तथा आगामी दिनमा अझ प्रभावकारी सेवाका लागि शुभकामना दिए।

समीक्षा कार्यक्रममा प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले सहजीकरण गरेका थिए भने कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ तथा कनिष्ठ अधिकृतहरूको उपस्थिति थियो। डिआईजी कार्कीले सबै जिल्ला प्रहरी प्रमुखहरूलाई नागरिकमैत्री सेवा प्रवाहमा अझ प्रभावकारी र रचनात्मक ढंगले लाग्न निर्देशन दिएका छन्।





