पाँचथर।
फिदिम नगरपालिका–१४ का किसानहरू यस वर्ष मुला फुलेपछि चिन्तामा परेका छन्। सुकेपोखरी क्षेत्रका करिब २५ रोपनी क्षेत्रफलमा गरिएको मुला खेतीमध्ये ११ रोपनीमा उत्पादनमा समस्या देखिएको हो। कृषकका अनुसार बोटमा फूल आएको तर कोसा नलागेको, कोसा लागे पनि काठजस्तो चाम्रो हुने, जरा पलाउनेजस्ता समस्या देखिएका छन्।
यस क्षेत्रको प्रमुख नगदे बालीमध्ये मुला, आलु र कोपि पर्छन्। कृषकले यही खेतीबाट वर्षभरिको जीविकोपार्जन गर्दै आएका छन्। तर यसपटक मुला बिग्रिएपछि किसानले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको छ। 
बिउमा समस्या भएको आशंका गर्दै किसानहरूले गुनासो गरेपछि कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख उमेश चौधरी र फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपाने प्रभावित क्षेत्रमै पुगेका थिए। निरीक्षणपछि कृषि ज्ञान केन्द्रले बीउ बिक्री गर्ने एग्रोभेट तथा कम्पनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने बताएको छ।

सामान्यतया किसानहरूले झापाको बिर्तामोडस्थित ‘हिमालयन सिड सेन्टर’ बाट मुलाको बीउ ल्याउँदै आएका थिए। यसपटक पनि त्यहीँबाट ल्याइएको बीउ प्रयोग गरिएको थियो। तर कृषकका अनुसार करिब ५० प्रतिशतभन्दा बढी मुला फुलेको पाइयो, जसले उत्पादनमा प्रत्यक्ष असर पारेको छ।
स्थानीय कृषक सुरेश राईका अनुसार सुकेपोखरी, चित्रे, लाप्चेटार, चिसोपानी, सानो सुके, घर थुम्कीमाथि र इथुङ क्षेत्रमा हरेक वर्ष पाँच करोड रुपैयाँभन्दा बढीको मुला बिक्री हुँदै आएको थियो। तर यस वर्ष पहिलो चरणको बिक्रीमा जम्मा पाँच लाख रुपैयाँभन्दा पनि कम आम्दानी भएको उनले बताए। 
‘मुला फुल्यो, कोसा लागेन, लागे पनि काठजस्तो भयो, अनि जरा पलायो,’ उनले भने, ‘यो समस्या यहाँ मात्र होइन, इलामको माथिल्लो क्षेत्रका किसानले पनि भोगिरहेका छन्।’
यसपटक प्रयोग गरिएको बीउ ‘लङ मिनयर कोरियन’ प्रजातिको हो। यही बिउ प्रयोग गरेर गत वर्ष करोडौं रुपैयाँ आम्दानी भएको अर्का कृषक अजय राईले बताए। उनले भने, ‘यो क्षेत्र करिब २६ सय मिटर उचाइमा पर्छ, यहाँको वातावरण यस्तो बालीका लागि अनुकूल छ, तर यसपालि बीउमै समस्या देखियो।’ 
प्रभावित क्षेत्रलाई पर्यटन सम्भावनायुक्त क्षेत्रका रूपमा पनि लिइन्छ। मेची राजमार्गअन्तर्गतको पौवा भञ्ज्याङबाट नजिकै रहेको यस ठाउँमा पछिल्लो समय होमस्टे व्यवसाय फस्टाउँदै गएको छ। नगरपालिकाले यस क्षेत्रलाई कृषि तथा पर्यटन प्रवर्द्धनको मोडल क्षेत्रका रूपमा विकास गर्दै आएको छ। 
नगर उपप्रमुख न्यौपानेले किसानसँग अन्याय हुने खालका बीउ विक्रेतामाथि कारबाही गर्न र क्षतिपूर्ति दिलाउन स्थानीय सरकार तयार रहेको बताएका छन्।





