पाँचथर । योङ कम्युनिस्ट लिग (वाईसिएल) नेपालले पाँचथरको फिदिम नगरपालिका–९, लुङ्फाबुङमा सात सयभन्दा बढी बिरुवा रोप्दै केन्द्रीय सरकुलरअनुसारको दुई महिने श्रम तथा उत्पादन अभियानको औपचारिक सुरुवात गरेको छ।
बिहीबार लुङ्फाबुङ बजार आसपासको डाँडो, स्वास्थ्य चौकी, विद्यालय परिसर तथा सडक किनारमा वृक्षारोपण गर्दै अभियान थालिएको हो। अभियानको उद्घाटन माओवादी केन्द्र पाँचथरकी इन्चार्ज सीता थेबे (प्रमिला)ले गर्नुभयो।
कार्यक्रममा माओवादी केन्द्र पाँचथरका सह–इन्चार्ज दिनेश लावती, फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, जिल्ला समन्वय समिति पाँचथरका अध्यक्ष विशाल रसाइली, फिदिम–६ का वडा अध्यक्ष विपन तुम्रोक, वाईसिएल केन्द्रीय सचिव विक्रम शंकर, सदस्यहरू अनिस तामाङ र सागर नेम्बाङ, प्रदेश सदस्य रोहित आङ्बो र दिपेन जबेगु लगायत पार्टी र वाइसीएलका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।

कार्यक्रमको आयोजना वाईसिएल नेपाल जिल्ला कार्यसमितिले गरेको हो।
वाईसिएल पाँचथरका अध्यक्ष गणेश तुम्रोकका अनुसार दुई महिनाभित्र जिल्लाका विभिन्न स्थानमा ५ हजारभन्दा बढी बिरुवा रोप्ने लक्ष्य रहेको छ। उनका अनुसार, यसअघि पनि वाईसिएलले विभिन्न स्थानमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने गतिविधिहरू गर्दै आएको थियो।
वाईसिएल नेपालको दुई महिने श्रम तथा उत्पादन अभियानलाई काठमाडौंमा माओवादी केन्द्रका अध्यक्ष *पुष्पकमल दाहाल ‘प्रचण्ड’*ले औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो। श्रावण १ गतेदेखि सुरु भएको अभियानअन्तर्गत देशभरका जिल्लामा श्रमदानमार्फत विभिन्न सार्वजनिक कार्यहरू सञ्चालन भइरहेका छन्।





