पाँचथर। निर्धन उत्थान लघुबित्त वित्तीय संस्था लिमिटेडले फिदिममा ग्रामीण कर्जा बीमा क्षतिपूर्ति वितरण तथा केन्द्र प्रमुखहरूको कार्यशाला गोष्ठी सम्पन्न गरेको छ।

Pasupati Ayurvedic
Nepalitheme

मंगलबार फिदिमको सरगम होटलमा आयोजित कार्यक्रममा संस्थाले सेयर सदस्यका छोराछोरीमध्ये कक्षा १२ मा उत्कृष्ट अंकसहित उत्तीर्ण भएका दुई विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो। छात्रवृत्ति प्राप्त गर्नेमा फालेलुङ गाउँपालिका–६ का तारावती बान्तवाको छोरा प्रज्वल बान्तवा राई र फिदिम नगरपालिका–२ पल्लोटारकी विष्णु कुमारी श्रेष्ठकी छोरी दिपिका श्रेष्ठ छन्। दुवैलाई नगद १०–१० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

त्यस्तै, संस्थाले मृत्युपछि बीमा दाबी भुक्तानी स्वरूप दुई सेयर सदस्य परिवारलाई क्षतिपूर्ति वितरण गरेको छ। फालेलुङ गाउँपालिका–७ की मनकुमारी माङ्मुको श्रीमानको मृत्यु भएपछि बीमा दाबीअनुसार उनले ५ लाख ५० हजार रुपैयाँ प्राप्त गरिन्। मृतकको नाममा लिइएको ४ लाख रुपैयाँ ऋण पनि संस्थाले सम्हालेको छ। यस्तै, फाल्गुनन्द गाउँपालिका–३ की सेयर सदस्य रुपा तामाङले आफ्नो श्रीमानको निधनपछि काजकिरिया खर्च वापत नगद ३० हजार रुपैयाँ प्राप्त गरिन्। उक्त जानकारी संस्थाकी वरिष्ठ केन्द्र परिचालिका सम्झना राई (लेप्चा) ले दिइन्।

ऊनको स्वीटर टेजर

कार्यशालामा जिल्लाभरिका १७१ केन्द्रका प्रमुखहरूको उपस्थिति रहेको थियो। संस्थाका अनुसार पाँचथर जिल्लाभरि १७१ वटा केन्द्र सञ्चालनमा छन् भने फालेलुङ गाउँपालिका, फिदिम नगरपालिका, फाल्गुनन्द गाउँपालिका र हिलिहाङ गाउँपालिका गरी चार कार्यक्षेत्रहरूमा सेवा दिइँदै आएको छ।

कार्यक्रममा उत्कृष्ट केन्द्र घोषणा पनि गरिएको थियो। फिदिम नगरपालिका–१० को मगरचेप केन्द्र उत्कृष्ट घोषित भयो भने सिर्जन शिल केन्द्र (फालेलुङ–६) दोस्रो, शिवशक्ति केन्द्र (फिदिम–१) तेस्रो, र पानीपरुवा केन्द्र (फालेलुङ–७) सान्त्वना स्थानमा परे।

संस्थाले हालसम्म जिल्लाभर २१ करोड ९७ लाख रुपैयाँ कर्जा लगानी गरेको जानकारी दिइएको छ। हालसम्म २,९३३ घरधुरीले संस्थाबाट सेयर सदस्यता लिएको कार्यालय प्रमुख याम बहादुर राईले बताए।

कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले थिए। विशेष अतिथिमा वडा नं. १ का अध्यक्ष गज्जधार भट्टराई तथा क्षेत्रीय कार्यक्रम अधिकृत सुनिल कुमार सिंह (प्रदेश कार्यालय) रहेका थिए। कार्यक्रमको अध्यक्षता मुना नेम्वाङले गरेकी थिइन्।

प्रमुख अतिथि काफ्लेले निर्धन उत्थान लघुबित्तले विगत केही वर्षदेखि गाउँका आर्थिक रूपले कमजोर वर्गको जीवनस्तर उकास्न सकारात्मक काम गर्दै आएको उल्लेख गर्दै संस्थालाई धन्यवाद ज्ञापन गरे।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय