पाँचथर। फिदिममा सम्पन्न पालिका स्तरीय साकेला कप प्रतियोगितामा फिदिम नगरपालिका–३ का नाम्दावा साकेला टोली प्रथम भएको छ।

Nepalitheme
Pasupati Ayurvedic

किरात राई यायोक्खा जिल्ला कार्य समिति पाँचथरको आयोजना र फिदिम नगरपालिकाको प्रवर्द्धनमा आयोजित प्रतियोगितामा नाम्दावा टोलीले प्रथम स्थान हासिल गर्दै नगद ३० हजार रुपैयाँ प्राप्त गरेको हो।

प्रतियोगितामा फालेलुङ गाउँपालिका–६ का सुम्निमा पारुहाङ सांस्कृतिक समूह दोस्रो स्थानमा रहँदै नगद २५ हजार रुपैयाँ जित्न सफल भयो। त्यस्तै, तुम्मेवा गाउँपालिका–४ को यायोक्खा वडा समिति तेस्रो भई नगद २० हजार रुपैयाँ प्राप्त गरेको यायोक्खा जिल्ला अध्यक्ष गणेश साम्पाङले जानकारी दिनुभयो।

ऊनको स्वीटर टेजर

जिल्ला समन्वय समिति, फिदिमको प्राङ्गणमा आयोजित प्रतियोगिता किरात राई समुदायको महत्वपूर्ण पर्व उभौलीको अवसरमा आयोजना गरिएको थियो। किरात समुदायले वैशाख पूर्णिमाका दिन उभौली र मंसिर पूर्णिमामा उधौली पर्व मनाउने परम्परा रहेको छ। यी पर्वहरूमा साकेला सिली नाच्दै, पूजापाठ गर्दै सामूहिक रुपमा उत्सव मनाउने चलन छ।

किरात राई यायोक्खा जिल्ला सचिव शान्ति राईका अनुसार पाँचथरका विभिन्न गाउँपालिकाका वडाहरूमा राई समुदायले साकेला नाचेर र फिदिम नगरपालिका–३ स्थित शर्पे डाँडामा पूजा गरेर उभौली पर्व मनाउने गर्छन्।

कार्यक्रमका क्रममा समुदायमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका पूर्व कार्यसमितिका तीन सदस्य—नरेन्द्र राई, रामविर राई र महिनसिंह राईलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो।

प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले रहनुभएको थियो। त्यस्तै, विशेष अतिथिमा किरात राई यायोक्खा केन्द्रीय सदस्य कर्सिङ राई, नेपाल आदिवासी जनजाति महासंघ पाँचथर अध्यक्ष सागर केरुङलगायत विभिन्न जातजातिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि काफ्लेले नगरपालिकाभित्र रहेका विभिन्न जातजातिको मौलिक संस्कृति संरक्षणमा नगरपालिका सदैव सहकार्य गर्न तयार रहेको बताउनुभयो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय