सिरिजङ्घा, ताप्लेजुङ।

Nepalitheme
Pasupati Ayurvedic

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आगामी २०८२ वैशाख ५ गतेदेखि १५ गतेसम्म सिरिजङ्घा पर्यटन महोत्सव आयोजना गर्ने भएको छ। महोत्सवका सबै कार्यक्रम सिरिजङ्घा–७, याम्फुदिनको नयाँ झोरेनीमा सञ्चालन हुनेछन्। कार्यक्रमस्थल समुद्री सतहबाट ३,३७० मिटरको उचाइमा रहेको छ।

गाउँपालिकाले बुधबार फुङलिङमा पत्रकार सम्मेलन गरी महोत्सवसम्बन्धी जानकारी सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान, उपाध्यक्ष डा. चित्र माबो, प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर आङदेम्बे, इन्जिनियर नविन यादव तथा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। गाउँपालिकाले कञ्चनजङ्घा हिमालको प्रचार–प्रसार गर्दै स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको जनाएको छ।

ऊनको स्वीटर टेजर

महोत्सवमा कञ्चनजङ्घा साहसिक हाफ म्याराथन प्रतियोगिता, जलवायु परिवर्तनको असरसम्बन्धी अध्ययन तथा पदयात्रा, याक र चौरी प्रदर्शन, माउन्टेन साइकलिङ र प्याराग्लाइडिङ सम्भाव्यता अध्ययन तथा राष्ट्रिय कलाकारहरूबीच सांस्कृतिक कार्यक्रम आयोजना गरिने बताइएको छ।

महोत्सव अन्तर्गत आयोजना गरिने कञ्चनजङ्घा साहसिक हाफ म्याराथन सिरिजङ्घा–७, याम्फुदिनको नयाँ झोरेनीबाट सुरु भई दुन्दु डाँडासम्म २१ किलोमिटर दूरी पार गर्नेछ। प्रतियोगितामा स्थानीय तथा इच्छुक स्वदेशी तथा विदेशी खेलाडीहरूले पनि भाग लिन सक्नेछन्। म्याराथनको अन्तिम बिन्दु दुन्दु डाँडा समुद्री सतहबाट ४,२३० मिटर उचाइमा रहेको छ। प्रतियोगितामा प्रथम हुनेलाई २ लाख ८ हजार ५ सय ८६ रुपैयाँ, द्वितीय हुनेलाई १ लाख ८ हजार ५ सय ८६ रुपैयाँ तथा तृतीय हुनेलाई ५८ हजार ५ सय ८६ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

त्यस्तै, याक तथा चौरी प्रदर्शन प्रतियोगितामा उत्कृष्ट पालकलाई २८ हजार ५ सय ८६ रुपैयाँ तथा अन्य सहभागीलाई सान्त्वना स्वरूप ८ हजार ५ सय ८६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

गाउँपालिकाले महोत्सव सम्पन्न गर्न करिब ५२ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा महोत्सवका लागि ३७ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष डा. चित्र माबोले जानकारी दिनुभएको छ।

महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने तथा स्थानीय अर्थतन्त्रलाई सबल बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय